एभरेष्ट प्यारेन्टेरेल्सद्धारा स्वास्थ्य मन्त्रालयलाई १ हजार थान भिटिएम किट सहयोग
स्वाबमा भएको भाइरसलाई बिग्रन नदिन ह्याक्स ब्यालेन्स सोलुसन, फेरल बोभिन सेरम तथा एन्टिबायोटिक र एन्टिफंगलको समिश्रण
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस परीक्षणका लागि आवश्यकपर्ने भिटिएम उत्पादन गर्न सफल स्वदेशी नेपाली औषधि कम्पनि एभरेष्ट प्यारेन्टेरेल्स प्रा.लि.ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ हजार थान भिटिएम किट सहयोग गरेको छ ।
हालको विषम परिस्थितिमा भिटिएमको विश्वभरिनै अभाव रहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कम्पनिले १ हजार थान किट सहयोग स्वरुप मन्त्रालयलाई उपलब्ध गराइएको हो ।
नेपालमा पहिलोपटक भिटिएम किट उत्पादन गर्न सफल एभरेष्ट प्यारेन्टेरेल्स प्रा.लि. बीरगञ्जमा रहेको छ ।
मन्त्रालयमा आयोजित एक कार्यक्रबीच एभरेष्ट प्यरेन्टेरल्सका अध्यक्ष महेश रानासरियाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सो भिटिएम किट प्रदान गर्नुभयो ।
सो अवसरमा कम्पनिका प्रमुख कार्यकारी अधिकृत उमंग रानासरिया, कम्पनिका नेहा अग्रवाल, बजार व्यवस्थापक एवं वरिष्ट फर्मासिष्ट विवेक सिंह महत तथा औषधि उत्पादक संघका महासचिव विप्लभ अधिकारीको उपस्थिति रहेको थियो ।
पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेपछि त्यसलाई सुरक्षित रुपमा प्रयोगशालासम्म पुर्याउन भिटिएम किट प्रयोग गरिन्छ । स्वाबमा भएको भाइरसलाई बिग्रन नदिन ह्याक्स ब्यालेन्स सोलुसन, फेरल बोभिन सेरम तथा एन्टिबायोटिक र एन्टिफंगलको समिश्रणबाट भिटिएम तयार गरिन्छ ।
एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले उत्पादन गरेको भिटिएम तेस्रो पक्ष परीक्षणमा उत्कृष्ट देखिएको साथै नेपालमा राट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा समेत राम्रो ठहर भएको छ । संसारभर नै मान्यता प्राप्त Center for diseases control prevention (CDC) गाइडलाइनमा तयार गरिएको सिएलएसआई स्टैन्डर्ड एम ४० गाइडलाइनबाट परीक्षण भएकाले सबै खाले परीक्षणमा उत्कृष्ट देखिएको वरिष्ठ फर्मासिष्ट विवेक सिंह महत बताउनुहुन्छ ।
नेपालमा परीक्षण तथा उत्पादन भएको भिटिएमले विश्व प्रशिद्ध युके सर्टिफिकेसनबाट सिई तथा जिएमपी कम्प्लिएन्स जस्ता सर्टिफिकेट पनि पाएको छ । यसबाट भिटिएमको गुणस्तर उच्च रहेको प्रमाणित हुन्छ ।