Logo
|
Friday 26th April 2024
Logo

epaper

गण्डकीमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,१२९ पुग्यो



जनस्वास्थ्य सरोकार,पोखरा। गण्डकी प्रदेशमा गएको २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका दुई स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् ।

संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० जना छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् । उनीहरुमध्ये अन्नपूर्ण गाउँपालिका ठेगाना भएका एक जना, कुवेतबाट आएका दुई जना, साउदी अरबबाट आएका चार जना, युनाइटेड अरब इमिरेट्सबाट आएका एक जना र भारतबाट दुई जना रहेको पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिएका छन् ।

यस्तै कास्कीकै मादी गाउँपालिकामा पनि तीन जना कोरोना संक्रमण फेला परेको छ । उनीहरुमध्ये एक जना २८ वर्षीया महिला हुन् भने ३५ र ३७ वर्षका २ जना पुरुष हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सबैजना सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १२९ पुगेको छ । बुधबार बिहान मात्रै गण्डकी प्रदेशका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु बागलुङ, तनहुँ र म्याग्दीका थिए एक–एक जना थिए ।

गण्डकी प्रदेशभरिका कुल संक्रमितमध्ये ३५३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । उपचारका क्रममा स्याङ्जाका २ जनाको पोखरामा, गोरखाका एक जनाको मृत्यु भएको थियो । बागलुङका एक जना पुरुषको क्वारेन्टिनमा मृत्यु पश्चात कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्