‘मास्क नलगाउनु र सामाजिक दुरी कायम नगर्नु आत्मघाती’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण लगाइएको लकडाउनअघि र पछिको समयमा सङ्क्रमित दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। लकडाउन खुकुलो बनाएलगत्तै मानिसहरूको आवतजावत बढेको र जनस्वास्थ्यको मापदण्ड धेरैले पालना नगरेको कारण सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको अधिकारीहरूले बताएका छन्। लकडाउन अघि र पछि सङ्क्रमणको दर २.८ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको तथ्याङ्क छ।
सार्वजनिक स्थलमा मानिसहरूको मास्क नलगाउने र भौतिक दूरी कायम नगर्ने कारणले भविष्यमा स्वास्थ्यसम्बन्धी गम्भीर सङ्कट निम्तिनसक्ने चिन्ता विज्ञहरूको छ। लकडाउन खुकुलो पार्नुभन्दा ११ दिनअघि असार २७ गतेदेखि साउन ६ गतेसम्म झन्डै ४८,००० पीसीआर परीक्षण हुँदा १,३४५ मा सङ्क्रमण देखिएको थियो। तर लकडाउन खुकुलो भएपछिको ११ दिन साउन ७ गतेदेखि १७ गतेसम्म झन्डै ५८,००० परीक्षणमध्ये २,०९२ वटामा कोरोनाभाइरस देखियो।
समस्या कहाँ?
त्यसो भए के नागरिकसम्म कोरोनाभाइरसबाट जोगिने उपायकाबारे सन्देश पुग्न नसकेको हो त? मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ‘मानिसहरूले लापर्बाही’ गरेका हुन्। उनले भने, “सिंहदरबारमा हुने मन्त्रिपरिषद् बैठकमा मास्क खोलेर कुरा गरेको देखिन्छ। के त्यो सन्देश नपुगेर वा थाहा नपाएर भएको हो?” “सामाजिक दूरी कायम नगरी हिँड्ने, मास्क नलगाउने र लगाए पनि मानिससँग कुराकानीका बेला खोल्ने भनेको आत्मघाती काम हो।”
डा. गौतमले कोरोनाभाइरसको जोखिमका बेला मानिसहरूले जनस्वास्थ्यको मापदण्ड नमानेको भन्दै एउटा टेलिभिजन अन्तर्वार्तामा ‘आइसीयूमा काम गर्ने चिकित्सक/नर्सहरू डाइपर लगाएर काम गर्छन्… अनि सर्वसाधारणलेचाहिँ मास्क लगाउने, हात धुनेजस्ता सामान्य काम पनि नगरिदिने’ भनेको सामग्री सामाजिक सञ्जालमा थुप्रैपटक शेअर भएको छ।
खासगरी सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि पर्याप्त स्वास्थ्य उपकरणको जोरजाम नगरेको भन्दै आलोचनाहरू भइरहेका छन्।
सरकारसँग लकडाउन सुरु गरेको समयमा आईसीयू शैय्या १,५५१ र ७७० भेन्टिलेटर रहेकोमा अहिले त्यो सङ्ख्यामा २०० जति मात्रै वृद्धि भएको तथ्याङ्कले देखाउँछ। तर डा. गौतमले बिरामी भएपछिको उपचारभन्दा बिरामी नै हुन नदिने कुरामा केन्द्रित हुनुपर्ने बताए।
सावधानी नअपनाउँदा समस्या
लकडाउन खुलेलगत्तै मानिसहरूले सार्वजनिक ठाउँहरूमा गर्ने व्यवहार असह्य र अपच भएर आफूले कडा अभिव्यक्ति दिएको उनले बताए। “व्यक्तिगत सुरक्षा सामग्री पीपीई फेरिरहन नमिल्ने कारणले गर्दा चिकित्सकहरू पानी पनि पिउँदैनन्, समयमा खान पनि पाउँदैनन्। त्यसरी खटेर उनीहरू हाम्रो स्वास्थ्य बचाउने, हामी चाहिँ वास्तै नगरी मनलागी गर्ने?” डा. गौतमले प्रतिप्रश्न गरे।
अहिलेको अवस्थामा सरकारले जारी गरेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड नमाने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा वृद्धि हुनसक्ने उनले बताए।कोरोनाभाइरस सङ्क्रमणको सन्देश देशभरिका ८० देखि ८५ प्रतिशत जनसङ्ख्यामा पुगेको उनले दाबी गरे।
अहिलेको समस्या सन्देश नपुगेर नभई मानिसहरू विश्वस्त नभएकाले भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुनले बताए। डा. पुनले भने, “प्रत्येक पटक फोन गर्दा कोरोनाभाइरसको सन्देश आउँछ। महिनौँदेखि रेडियो/टिभीलगायत सञ्चारमाध्यमले त्यही सन्देश दिइरहेका छन्। जानकारी नभएर होइन, त्यसबारे सावधानी नअपनाएर समस्या भएको हो।”
सरुवा रोग अस्पतालमा आउने बिरामीको कुरा सुन्दा लकडाउन खुल्नु भनेकै सङ्क्रमणको जोखिम सकियो भन्ने तरिकाले बुझेको पाइएको उनले बताए। सङ्क्रमितको सङ्ख्या बढेपछि ठूला सहरहरू वीरगञ्ज, नेपालगञ्ज, विराटनगर र झापामा पुन: लकडाउन लगाइएको छ।
“मानिस आफैले सोच्नु पर्यो कि चिन्ताजनक अवस्था आउनसक्छ। त्यसका लागि आफै सतर्क हुनुपर्छ,” डाक्टर पुनले बताए। जापान र कोरियाजस्ता देशमा लकडाउन खुलेको अवस्थामा पनि मानिसले सरकारले भनेका नियम पालना गरेकै कारण सङ्क्रमण नियन्त्रणमा आएकोले त्यो व्यवहार लागु गर्नुपर्ने उनले बताए।
“सङ्क्रमण भइसकेको मानिसलाई तिरस्कार गर्ने अनि आफूलाई सङ्क्रमित होला भनेर नसोच्ने बानी देखिन्छ,” डा. पुनले भने। बीबीसी