Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालगन्ज उपमहानगरका ८ कर्मचारीमा कोरोना, कार्यालय शिल



जनस्वास्थ्य सरोकार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार एक जना वडा अध्यक्ष र ७ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । संक्रमित हुने जनप्रतिनिधि नेपालगन्ज–१ का वडा अध्यक्ष हुन् ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार ७ जना कर्मचारी संक्रमित भएकोमा ६ जना अधिकृत स्तरका कर्मचारी हुन् । ३ जना वडामा कार्यरत छन् भने अन्य ४ जना उपमहानगरपालिकाको कार्यालयका हुन् । १६ साउनमा नेपालगन्ज उपमहानगर परिसरमा जनप्रतिनिधि र कर्मचारी गरी ६५ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमित देखिएपछि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय शिल गरेको छ ।

पछिल्लो समय नेपालगन्जमा यात्रा विवरण नभएका व्यक्तिहरूमा दैनिक रुपमा कोरोना संक्रमण देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा २ सय ९५ जनाको परीक्षण गरिएकोमा सोमबार एकैदिन २० जनाको रिपोेर्ट पोजेटिभ आएको छ । जसमा नेपालगन्जका मात्र ११ जना यात्रा विवरण नभएका जनप्रतिनिधि, कर्मचारी र व्यवसायी छन् ।

प्रतिक्रिया दिनुहोस्