Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौं उपत्यका कोभिड–१९ को उच्च जोखिममा



जनस्वास्थ्य सरोकार, काठमाडौं। तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।

विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउन्छन । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।

उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण भित्रिएको आशङ्का गरिएको छ ।

दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उनका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उनका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउन्छन । उनका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।

यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ । रासस

प्रतिक्रिया दिनुहोस्