Logo
|
Thursday 25th April 2024
Logo

epaper

महिला स्वास्थ्यकर्मी कुट्ने प्रहरी नियन्त्रणमा



जनस्वास्थ्य सरोकार, बैतडी। बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी बिमला कुँवरमाथि कुटपिट गरेको आरोप छ ।

ती दुवै जनालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले बताए ।नियन्त्रणमा लिएका दुवैमाथि अनुसन्धान भईरहेको र आवश्यक देखिए मुद्दा चलाइने उनको भनाई छ ।

आइतबार स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएका थिए । स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको पीडितको भनाई छ।

“वृद्धा आमा कान नसुन्ने भएकाले उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौज गर्दै कुटपिट गरेको पीडितहरुको भनाई छ । ती युवाको कुटपिटबाट जानकीको हातको औला भाँचिएको, मुख, छाती र टाउकोमा चोट रहेको छ ।

अनमी जानकीसँगै कार्यालय सहयोगी विमलामाथि हातपात गर्नुका साथै ती दुवै जनाले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।

यसैबीच स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला स्वास्थ्य संस्थामै कुटपिट र दुव्र्यवहार भएकाले आफूहरु असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए । रासस

प्रतिक्रिया दिनुहोस्