Logo
|
Thursday 28th March 2024
Logo

epaper

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा



जनस्वास्थ्य सरोकार, नयाँदिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।

 

केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको ‘भाइटल प्यारामिटर’ भने स्थिर रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच ‘मुखर्जीको मृत्यु’ भएको भन्ने अफवाहको परिवारले खण्डन गरेको छ । मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, ‘मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ ।’

त्यस्तै मुखर्जीका छोरा अभिजितले पनि ट्वीट गर्दै बुवा जीवितै रहेको बताएका छन् । ‘मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ । रक्तसञ्‍चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ । केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्‍जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ,’ अभिजितले ट्वीटमा लेखेका छन् ।

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए ।

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्