Logo
|
Thursday 18th April 2024
Logo

epaper

सबैतिर संक्रमणको जोखिम



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना नियन्त्रण गर्न खटिने मुख्य निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ६ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीका ड्राइभर र सहयोगीसमेत छन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा लिएको अरूको स्वाबको रिपोर्ट आउन बाँकी छ । स्वास्थ्य विभागका कर्मचारी र चालकलाई पनि कोरोना देखिएको छ । काठमाडौं उपत्यकामा मंगलबार २ सय ५ जना संक्रमित देखिएकोमा ४४ जना स्वास्थ्यकर्मी छन् । शिक्षण अस्पताल महाराजगन्जका स्वास्थ्यकर्मी मात्रै त्यस दिन २४ जनामा संक्रमण पुष्टि भएको निर्देशक डा. रोहित पोखरेलले जानकारी दिए । यसबाहेक सुमेरु, निदान र किस्टका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

शिक्षण अस्पतालमा पछिल्लो एक सातामा मात्रै ४० स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘अस्पतालमा आउने बिरामी र कर्मचारीको लापरबाहीले संक्रमण बढ्यो,’ शिक्षण अस्पतालका निर्देशक डा. पोखरेलले भने, ‘अस्पताल व्यवस्थापनले जतिसक्दो सुरक्षाचाहिँ अपनाएका छौं ।’ संक्रमण फैलिएको अर्को अस्पताल हो, गंगालाल हृदय रोग केन्द्र । त्यहाँ १७ जनाभन्दा बढी संक्रमित छन् । मन्त्रालयका अनुसार ३ सय २७ स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित भइसकेका छन् । संक्रमित भएकामा निजी क्षेत्रका स्वास्थ्यकर्मी बढी रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

सुरक्षाकर्मीमा पनि संक्रमितको संख्या दिनहुँ थपिइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायतका अनुसार बुधबारसम्म ७ सय ७२ जना प्रहरी संक्रमित भइसकेका छन् । तीमध्ये २ सय ६८ जना निको भइसकेका छन् । प्रहरी प्रधान कार्यालयमा सबैभन्दा बढी १ सय ६८ जनालाई संक्रमण भएको उनले बताए । त्यहाँ सबैभन्दा पहिले कार्यालयका चालकमा संक्रमण देखिएको थियो । कठायतका अनुसार उपत्यकामा ट्राफिकसहित ३९, प्रदेश १ मा २६, प्रदेश २ मा ८३, वाग्मतीमा ४८, गण्डकीमा २२, प्रदेश ५ मा ५४, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ६ जना प्रहरी संक्रमित छन् । सशस्त्र प्रहरी र नेपाली सेनामा पनि संक्रमित छन् ।

थुनुवामा पनि संक्रमण देखिएपछि जोखिम थप बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले बताए । सोमबार कालीमाटी वृतमा रहेका एक पुरुष थुनुवामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित रहेको थुनुवा कक्षमा १६ जना थिए ।

इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैभन्दा बढी जोखिममा रहेको बताए । ‘संक्रमित हुनेमा कुनै क्षेत्र घटीबढी होला तर अब कुनै पनि क्षेत्र बाँकी छैन,’ उनले भने, ‘जतिसक्दो सावधानी अपनाऔं ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारीसहित ४१ जना संक्रमित भइसकेका छन् । आयोगका एक पदाधिकारीको त पूरै परिवारमा संक्रमण देखिएको छ । आयोगमा संक्रमितको संख्या उच्च भए पनि नियमित काम भइरहेको प्रवक्ता तारानाथ अधिकारीले बताए । सर्वोच्च अदालत र संसद्का कर्मचारी तथा स्थानीय तहका पदाधिकारी पनि संक्रमित भएका छन् ।

ईडीसीडीका अनुसार काठमाडौं उपत्यकामा हजाम, कवाडी संकलक, निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिलाई समेत संक्रमण देखिइसकेको छ । प्रहरी, स्वास्थ्यकर्मी र अख्तियारमा संक्रमितले परिवारका सदस्यहरूलाई समेत सारेपछि संक्रमण समुदायका अरू सदस्यमा फैलिएको विज्ञहरू बताउँछन् । ‘विगतमा उपत्यका बाहिरबाट आउनेमा मात्रै संक्रमण देखिएको थियो । स्थानीय बासिन्दा ३० प्रतिशत हाराहारी मात्रै संक्रमित थिए,’ जनस्वास्थ्य विज्ञ एवं ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने, ‘पछिल्ला दुई सातामा उपत्यकाभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न थालेको छ ।’ एउटा परिवारले अर्को परिवारलाई समेत संक्रमित बनाएको पाइएको छ ।

अछामका सांसद यज्ञबहादुर बोगटी पछिल्लो समय काठमाडौं उपत्यका बाहिर गएकै छैनन् । अरूसँग भेटघाट हुँदा संक्रमित भएको हुन सक्ने भनेर परीक्षण गर्दा उनमा पोजिटिभ देखियो । त्यस्तै सर्वसाधारणको सहजै पहुँच नभएको पुल्चोकको मन्त्री निवासमा समेत एक जनामा कोरोना देखिएको छ । अध्यागमन विभाग र निर्वाचन आयोगका कर्मचारी, नेताहरूका सुरक्षागार्ड, भेटेनरी चिकित्सकलाई समेत कोरोना देखिएको छ । काठमाडौंको मध्य भाग न्युरोड, महाबौद्ध, असन क्षेत्रका व्यापारीलाई कोरोना देखिएको छ । स्वास्थ्य सामग्री आपूर्तिकर्ता, राहदानी विभागका कर्मचारीसमेत संक्रमित छन् । निजी क्षेत्रका कर्मचारीहरूमा पनि संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार उपत्यकामा सबैजसो स्थानीय तहका बासिन्दालाई संक्रमण देखिएको छ । काठमाडौं महानगरको वडा नं ३२ मा ६० जनाभन्दा बढी संक्रमित छन् । कोटेश्वरको एउटा टोलमा मात्रै १७ जनाभन्दा बढी संक्रमित छन् । संक्रमितको संख्या बढेकै कारण लक्षण देखिएका संक्रमितलाई पनि घरमा राख्नुपरेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । संक्रमितको संख्या बढेपछि आइसोलेसनको स्थान पनि थप भएको उनले बताए । इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको भवनमा पनि संक्रमित राख्न आइसोलेसन सेन्टर बनाइएको छ । केएमसीमा ५५ शय्या थप गरिएको छ । भक्तपुर अस्पतालमा १५ शय्या थप गरिएको छ । ‘काठमाडौं उपत्यकामा सबैजसो स्थानीय तहका वडा तहमा समेत संक्रमित देखिएकाले ५ हजार जना संक्रमित अट्ने एकीकृत आइसोलेसन बनाउन लागिपरेका छौं,’ उपत्यका नगर फोरम र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘एक सातामा यो पूरा गर्छौं ।’ कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्