Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना संक्रमण नियन्त्रणमा अनियमितता, साधारण मास्कलाई २१ रुपैयाँ



जनस्वास्थ्य सरोकार, सिरहा । कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरणमा अनियमितता भएको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार औरही गाउँपालिकामा छापा मार्‍यो।

कोरोना रोकथामसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि छानबिनमा लगेको अख्तियारले यसअघि साउन २५ सिरहा नगरपालिकामा पनि अनुगमन गर्‍यो। दुवै स्थानीय निकायमाथि छानबिन भइरहेको बर्दिवासस्थित अख्तियारका सूचना अधिकारी मनिराम ज्ञवालीले जानकारी दिए। कोरोना संक्रमणका विभिन्न शीर्षकमा सिरहामा ९ गाउँपालिका र ८ नगरपालिकाले २७ करोड १३ लाख २९ हजार ५ सय ४ रुपैयाँ खर्च गरेका छन्।

मास्क, पञ्जा, सेनिटाइजरलगायत क्वारेन्टाइन व्यवस्थापनसामग्री बजार भाउभन्दा बढी मूल्यमा खरिद गरिएको स्थानीयको गुनासो छ। कोरोना रोकथाम नियन्त्रणमा ‘फ्रन्टलाइन’मा खटिने स्वास्थ्यकर्मीभन्दा जनप्रतिनिधिले बढी जोखिम भत्ता लिएको विवरण सार्वजनिक भएको छ। जोखिम भत्ताको सम्पूर्ण विवरण कानुनी आधारसहित तीन दिन भित्रमा बुझाउन प्रशासनले स्थानीय तहलाई निर्देशन दिएको छ।

तीन दिनभित्र बुझाउन माग गरेको छ। कुन–कुन क्वारेन्टाइन, आइसोलेसन र कन्ट्याक्ट टे«सिङ गर्ने काममा कुन समयमा कति खर्च भएको हो त्यसको विस्तृत विवरण माग गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

५४ लाखको झुल

औरही गाउँपालिकाले कोभिड– १९ नियन्त्रण र रोकथामका लागि २ करोड २० लाख ८० हजार ९ सय २९ रूपैयाँ खर्च गरेको छ। सो गाउँपालिकाले ५४ लाखको झुल खरिद गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा विपत् व्यवस्थापन कोषबाट झुल किनिएको गाउँपालिकाले जनाएको छ। त्यसैगरी ८३ लाख ४२ हजार ३ सय ३२ रुपैयाँ राहतमा खर्च भएको छ। गाउँपालिकाका सम्पूर्ण घरधुरीलाई झुल वितरण गर्न ५३ लाख ६९ हजार एकसय ९५ रुपैयाँ खर्च भएको बताइएको छ। कोरोना रोकथामका लागि गाउँपालिकाले झुल खरिदमा गरेको खर्च अहिले जिल्लाभर चर्चाको विषय बनेको छ। झुल अहिले गाउँपालिकाको स्टोरमा थन्किएको छ। औरही गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत लक्ष्मण साहले कोभिड नियन्त्रण गर्न झुल खरिद गरिएको स्वीकार्दै भने, ‘६५ सय थान झुल खरिद गरेका छौँ, ‘केही दिनमा वितरण हुन्छ।’

यसैबीच कोरोना रोकथामका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले भन्दा जनप्रतिनिधिले बढी भत्ता बुझेका छन्। गाउँपालिकाले स्वास्थ्यकर्मीलाई ८ लाख २ हजार ७ सय २३ रुपैयाँ वितरण गरेको छ। अन्य कर्मचारीलाई २ लाख ९४ हजार ४ सय भत्ता वितरण गरिएको छ। तर, गाउँपालिकाका जनप्रतिनिधिले भने ११ लाख ९६ हजार ६ सय जोखिम भत्ता बुझेका छन्। औरही गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका रहेको छ। गाउँपालिकाले कार्यविधि बनाएर जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराएको निमित्त प्रशासकीय अधिकृत साहले बताए।

संक्रमण रोकथामका लागि सिरहा नगरपालिकाले ५ करोड ९१ लाख १९ हजार २ सय ९७ रुपैयाँ खर्च गरेको छ। १८ लाख २५ हजार ५ सय ९७ रुपैयाँमा ८६ हजार ८ सय ५० थान साधारण मास्क खरिद गरेको विवरण सार्वजनिक भएको छ। जसअनुसार प्रतिमास्कको २१ रुपैयाँ परेको देखिन्छ।

सोही नगरपालिकाले ६ लाख ८८ हजार ८ सय ६० रुपैयाँमा ३७ हजार ७० थान पञ्जा खरिद गरेको छ। एक जोडी पञ्जा किन्न ३७ रुपैयाँ खर्च गरिएको छ। नगरका २२ वटै वडा कार्यालयमार्फत १ करोड ४ लाख ८४ हजार ९ सय १६ रुपैयाँको मास्क, पञ्जा, सेनिटाइजर र साबुन खरिद गरेर वितरण गरिएको नगरपालिकाले जनाएको छ। बजारभन्दा बढीमा यस्ता सामग्री किनिएको एक स्वास्थ्यकर्मीले बताए। यो नगरपालिकाले स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिलाई एकमुष्ट ५८ लाख ६० हजार ५ सय ५२ रुपैयाँ भता वितरण गरेको छ।

घुस लिन पठाउँदा तानिए मेयर

असार ३१ गते घुस रकमसहित पक्राउ परेका कल्याणपुर नगरपालिकाका मेयर र उनका छोराविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। मेयर सूर्यनाथ मण्डल धानुक र उनका छोरा सन्तकुमार मण्डलविरुद्ध ५ लाख विगो कायम गरी गत बुधबार भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरिएको छ।

डीपीआर कार्य सम्पन्न गरे पनि सूर्यनाथले भुक्तानी दिएका थिएनन्। भुक्तानी दिनुअघि घुस लिन उनले छोरा सन्तकुमारलाई पठाएका थिए। सोही सूचनाको आधारमा अख्तियारको बर्दिवास कार्यालयको टोलीले सन्तकुमारलाई ५ लाख रुपैयाँसहित लहानबाट पक्राउ गरेको थियो। घुस नदिएसम्म उनीहरूले चेक रोकेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। उनीहरू माथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्