Logo
|
Tuesday 16th April 2024
Logo

epaper

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई तुरुन्त पक्राउ गर्ने प्रहरीको प्रतिबद्धता, के भन्छ स्वास्थ्य मन्त्रालय?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा दुर्व्यवहार भएका विवरणहरू आइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई “तत्काल पक्राउ गरी कारबाही गर्न” माग गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले उक्त मागबारे गृह मन्त्रालयलाई पहिले पनि जानकारी गराइसकिएको र आवश्यक परे फेरि पनि आग्रह गरिने बताए। नेपाल प्रहरीले भने पहिले नै देशैभरिका प्रहरी कार्यालयहरूलाई त्यस्ता कार्यबारे जानकारी आए तुरुन्त कारबाही अघि बढाउन निर्देशन दिइएको जनाएको छ। प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरूलाई विभिन्न कसुरमा मुद्दा चलाउन सकिने चेतावनी पनि दिएको छ।

पछिल्लो घटना

अधिकारीहरूले शनिवार राजधानी काठमाण्डूमै स्वास्थ्यकर्मीमाथि भएको एउटा दुर्व्यवहारको घटनापश्चात् कारबाहीको चेतावनी दिएका हुन्। शनिवार काठमाण्डूको बानेश्वरस्थित एउटा होस्टलमा सिभिल अस्पतालका केही स्वास्थ्यकर्मीहरू क्वारन्टीनमा बसेको थाहा पाएपछि केही स्थानीयवासीहरूले दुर्व्यवहार गरेको बताइएको छ। उक्त होस्टल सञ्चालक रोहित रानामगरका अनुसार बिहान ७ बजेतिर टोल सुधार समितिको अगुवाइमा आएका केही व्यक्तिहरूले उनीसहित स्वास्थ्यकर्मीहरूलाई धम्क्याएका थिए।

उनले  भने, ‘उक्त समूहबाट ‘काट्छौँ/मार्छौँ’ सम्मको धम्की आयो। त्यसपछि मैले प्रहरीलाई खबर गरेर प्रहरी आएपछि मात्र उहाँहरू तितरबितर हुनुभयो।’ उक्त होस्टलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू गत बिहीवारदेखि क्वारन्टीनमा बस्न आएको रानामगरले जानकारी दिए। उनका अनुसार शनिवार केहीबेर स्थानीयवासीले होस्टेल घेराउ समेत गरेका थिए।

तर उक्त स्थान पर्ने काठमाण्डू महानगरपालिका-३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले चाहिँ “खासै ठूलो घटना नभएको तर धेरै मिडियाबाजी भएको  बताए। उनले भने, ‘यो कुनै दुर्व्यवहार भएको पनि होइन हेर्नूस्… उहाँहरू (स्थानीयवासी) ले सम्झाउँदा सम्झिनुहुन्छ। अलि बढी मिडियाबाजी भएछ। तर हामीले दुवै पक्षलाई राखेर समाधान गर्नुपर्छ भनेर म लागिरहेको छु।’

बानेश्वर घटनाबारे आइतवार वडा कार्यालयमा दुवै पक्षबीच सहमति भएको छ। वडाध्यक्ष, निजामती अस्पताल, होस्टल तथा टोल सुधार समितिका प्रतिनिधिबीच सहमति भएको हो। सहमतिमा स्थानीयवासीले स्वास्थ्यकर्मीको आवासस्थललाई सुरक्षित र तनावरहित बनाउने उल्लेख छ।

अन्य स्थानमा पनि दुर्व्यवहार

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीका अनुसार देशका विभिन्न भागहरू चिकित्सकहरूमाथि दुर्व्यवहार भएका घटनाहरू जानकारीमा आएको छ।

उनले भने-‘धेरै ठाउँबाट त्यस्ता गतिविधिका विवरण आएका छन्। यो एकदमै दु:खलाग्दो कुरा हो। चिकित्सकहरूले जीवनलाई दाउमा राखेर काम गरिरहेका बेला मनोबल बढाउनु पर्नेमा दुर्व्यवहार हुनु चिन्ताजनक विषय हो। यसमा ध्यान दिन हामी सरकारलाई आग्रह गर्छौँ।’ उनले वीरगन्ज, चितवन, विराटनगर र अन्य स्थानमा पनि दुर्व्यवहार भएको विवरण आएको बताए।

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईका अनुसार देशका विभिन्न भागहरूमा नर्सहरूलाई दुर्व्यवहार गरिएको विवरण पनि आएको छ। उनका अनुसार करिब एक दर्जन त्यस्ता घटनाबारे नर्सहरूले सङ्घलाई जानकारी गराएका छन्। राईका अनुसार कतिपय स्थानमा घरपरिवार र आफन्तले पनि दुर्व्यवहार गरेको पाइएको छ।

त्यस्तै टोलवासी र डेरामा बस्नेलाई घरधनीले समेत दुर्व्यवहार गरेको पाइएपछि सम्बन्धित व्यक्तिसहित स्थानीय सरकारसँग समन्वय गरेर विवाद मिलाइएको उनले बताइन्।

के भन्छ स्वास्थ्य मन्त्रालय?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यस्ता विवरण आएकोले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए। मन्त्रालयले पटकपटक त्यस्ता कार्य नगर्न सार्वजनिक रूपमा पनि आग्रह गरेको तर त्यो क्रम दोहोरिनु चिन्ताजनक रहेको उनको भनाइ छ। उनले भने- ‘आज स्वास्थ्यकर्मीहरू खाजा खान नपाएर, पानी पिउन नपाएर, डाइपर लगाएर आईसीयूमा उपचार गरिरहेका छन्।

त्यसरी खटिएका व्यक्तिलाई दुर्व्यवहार गर्नु अत्याचार हो।’ ‘काठमाण्डूजस्तो ठाउँमा समेत दुर्व्यवहार भयो। ती मान्छेलाई पक्रेर कानुनअनुसार पक्राउ गर्नुपर्छ।’ उनका अनुसार गृह मन्त्रालयलाई त्यस विषयमा जानकारी गराइसकिएको र कारबाहीको प्रक्रिया पनि सुरु भइसकेको हुनुपर्ने बताए।

के भन्छ नेपाल प्रहरी?

नेपाल प्रहरीका प्रवक्ता कुवेरसिंह कडायतले यस्ता गतिविधि गर्न नपाइने बताए। उनले प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, “यदि कसले दुर्व्यवहार गरे त्यसविरुद्ध विभिन्न घटनाको प्रकृति हेरेर मुद्दा चल्न सक्छ।

कुटपिट भएको छ भने त कुटपिटमा मुद्दा चलिहाल्छ। त्यसबाहेक सङ्क्रामक रोग ऐनअनुसार पनि कारबाही हुने व्यवस्था छ।” प्रहरीले केही समययता दुर्व्यवहार भएका घटना सार्वजनिक भएपछि मातहतका कार्यालयहरूलाई तुरुन्तै कदम चाल्न निर्देशन दिइसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्