Logo
|
Friday 26th April 2024
Logo

epaper

बिपी जन्मजयन्तीमा पिसीआर उपकरण उद्घाटन



नेपाल हेल्थ न्युज, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज विधिवतरूपमा उद्घाटन गरेको छ । बिपीकै नामबाट स्थापना भएको सो अस्पतालले उहाँको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो ।

सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर डा झाङ वीले प्रयोगशालाको उद्घाटन गर्नुभयो । सो अवसरमा अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम, सञ्चालक समिति सदस्य डा विनय ठाकुरलगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

अस्पतालले प्रयोगशाला गत आइतबारबाट सञ्चालनमा ल्याएको हो । हालसम्म ३९२ जनाको कोरोना परीक्षण गरिएको गौतमले जानकारी दिनुभयो । अस्पतालले पिसीआर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ । एक दिनमा ४०० सम्म नमूनाको परीक्षण गर्न सकिने उहाँकोे भनाइ छ । सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज भएको गौतमको भनाइ छ ।

समयमा पिसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो । सोबाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पतालले र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।

चिनियाँ चिकित्सक टोलीलाई स्वागत

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३औँ चिनियाँ चिकित्सक टोलीलाई आज स्वागत गरेको छ । सो अस्पतालमा चीन सरकारले नियमितरूपमा १५ विशेषज्ञ चिकित्सकसहित १७ जनाको टोली पठाउँदै आएको छ । विगत तीन वर्षयता हरेक वर्ष नयाँ टोली आउने र पुरानो टोली जाने गरेको छ । वीको नेतृत्वको टोलीलाई अस्पतालले स्वागत गरेको हो ।

यसअघिको डा लुलीको नेतृत्वमा रहेको टोलीलाई आजै बिदाइ गरिएको छ । डा वी मूत्ररोग विशेषज्ञ हुनुहुन्छ । उहाँसँगै नाक, कान, घाँटी, रक्त क्यान्सर, स्तन क्यान्सर, पेट रोग विशेषज्ञ, प्याथोलोजी, अकुपञ्चर, रेडियो थेरापी, एनेस्थेसिया, थोरापित र दन्त चिकित्साका १५ विशेषज्ञ रहेका छन् । एक दोभासे र एक भान्से रहेको गौतमले जानकारी दिनुभयो । उहाँहरुलाई अस्पतालका अध्यक्ष लामिछाने, कार्यकारी निर्देशक गौतम, सञ्चालक समिति सदस्य ठाकुरसहित विभागीय प्रमुखहरुले स्वागत गर्नुभएको थियो । सन् १९९८ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरिदिएको हो । अस्पताल सञ्चालन भएदेखि नै चिनियाँ चिकित्सक टोलीले अस्पतालमा सेवा दिँदै आएको छ । उनीहरुको आवासीयबाहेकको सबै खर्च चीन सरकारले नै व्यहोर्दै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्