गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना, संक्रमितको संख्या २ हजार ७४७ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षमा थप १७ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान जानकारी दिएको छ।
थपिएका संक्रमितमा नवलपरासी सुस्तापूर्वका १२ जना, कास्की र स्याङ्ना २/२ र तनहुँका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।
संक्रमितमध्ये पोखरा महानगरपालिकाका २ जना, तनहुँका १ जना र स्याङ्जाको पुतलीबजार–१ का १ जना गरी ४ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति भएको र अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको व्यक्ति भएको निर्देशक शर्माले जानकारी दिए। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७४७ पुगेको छ।