कालिकोट जिल्ला कोरोनामुक्त
कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए ।
कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए ।
जिल्लाका नौ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ । कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ । रासस