Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोभिड-१९ संक्रमितको संसर्गमा आएका सबैले लक्षण नदेखिए पनि पीसिआर गर्नुपर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ को लक्षण नभएका व्यक्तिले परीक्षण गर्न आवश्यक नभएको भन्दै गत महिना दिइएको एउटा विवादित सुझाव फिर्ता लिएका छन्।

सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का अनुसार अब पत्ता लागेका सङ्क्रमितको संसर्गमा आएका सबै व्यक्तिले परीक्षण गराउनुपर्नेछ।

शुक्रवार दिएको ‘स्पष्टीकरण’ पछि सीडीसी कोरोनाभाइरस परीक्षणबारे आफ्नो पुरानै अवधारणामा फर्किएको छ।

समाचारहरूमा जनाइएअनुसार अगस्टमा दिइएको सुझाव वास्तवमा वैज्ञानिकहरूको थिएन।

किन उल्ट्याइयो सुझाव?

द न्यूयोर्क टाइम्स पत्रिकाले स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छः विज्ञहरू असहमत भए पनि त्यस्तो सुझाव सीडीसीको वेबसाइटमा राखिएको थियो।

धेरैजसो अमेरिकी राज्यहरूले त्यस बेला उक्त निर्देशिकालाई अस्वीकार गरेका थिए।

समाचारसंस्था रोएटर्सले उक्त कदम देशको प्रमुख रोग नियन्त्रण निकायको ‘मौन बस्न बाध्य पारिदिने झापड’ भनेर लेखेको छ।

केही जानकारहरूले उक्त कदम कोभिड-१९ को बढ्दो क्रम घटाउने राष्ट्रपति डोनल्ड ट्रम्पको सोचको प्रतिविम्ब भएको हुनसक्ने ठान्छन्।

जुन महिनामा समर्थकहरूको एउटा र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले अधिकारीहरूलाई ‘कृपया परीक्षण गर्ने काम कम गर्नुहोस्’ भनेर आग्रह गरेको बताएका थिए।

ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पको उक्त भनाइ “ठट्टा” भएको बताएका छन्।

कस्तो छ प्रतिक्रिया?

यद्यपि ट्रम्प प्रशासनका अधिकारीहरूले उनको टिप्पणीमा कुनै राजनीतिक उद्देश्य नजोडिएको बताएका छन्।

रोएटर्ससँग कुरा गर्दै उनीहरूले पछिल्लो परिवर्तन ‘हालका प्रमाण र उत्कृष्ट जनस्वास्थ्य अभ्यास’ को प्रतिविम्ब भएको जनाएका छन्।

सरकारी रणनीति फेर्ने शुक्रवारको कदमको विज्ञहरूले स्वागत गरेका छन्।

अमेरिकाको सरुवा रोगसम्बन्धी काम गर्ने व्यक्तिहरूको एउटा सङ्गठनका अध्यक्ष टमस फाइल भन्छन्: “विज्ञानमा आधारित परीक्षणका मार्गदर्शनमै फर्किने सीडीसीको कदम जनस्वास्थ्य र महामारीसँग जुझ्न हामी सबैले गरिरहेका प्रयासका लागि सुखद समाचार हो।”

सीडीसीले पुष्टि भएका सङ्क्रमितको निकट संसर्गमा अर्थात् छ फिटको दूरीमा १५ मिनेटसम्म रहेका व्यक्तिलाई लक्षण नदेखिए पनि परीक्षण गराउन भनेको छ।

अमेरिकामा अहिलेसम्म विश्वको पाँच भागको एक भाग अर्थात् झन्डै ७० लाखमा कोरोनाभाइरस देखिएको छ। त्यहाँ विश्वमै सबैभन्दा धेरै अर्थात् झन्डै दुई लाखले कोभिड-१९ सँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्। बिबिसी

प्रतिक्रिया दिनुहोस्