Logo
|
Sunday 22nd December 2024
Logo

epaper

कोरोनाको त्रासले स्वदेश फर्किएका नेपाली चाडपर्वको मुखमा रोजगारीका लागि फेरी मुग्लान पसे



जनस्वास्थ्य सरोकार, महेन्द्रनगर । दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ । बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् ।

कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् । ‘विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो ।’ जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो- ‘मजदूरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन ।’

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो भारत । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए । गाउँमा रोजगारी नपाइनाले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि शुरु भएको हो ।

त्यसैगरी लालाबालासहित भारतको पञ्जाब गइरहेका भीमदत्तनगरपालिका–९ का कल्लु टमाटाले चाडपर्वका बेला घर आउने समयमा आफूहरु बाध्यताले विदेशिरहेको बताउनुभयो । ‘छोराछोरीको पालनपोषण भन्दा ठूलो चाडपर्व होइनन् ।’ उहाँले भन्नुभयो- ‘ज्यान रहे त पर्व र खुशीहरु कहाँ जालान् ।’

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवालाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ तर भारत जाने क्रम भने रोकिएको छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवा बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताउनुभयो । उहाँले विपन्न समुदायमा छाक टार्नसमेत धौ धौ हुने स्थिति देखिन थालेको बताउनुभयो ।

बजार, व्यवसाय कोरोनाका कारण धराशायी रहेको जनाउँदे उहाँले यस्तो महाकष्टका बेला बजारमा भीडभाड पनि गर्न आग्रहसमेत गर्नुभयो । ‘स्वास्थ्यसितको कुरो भएकाले पनि यस वर्ष दशैंमा चहलपहल गर्नु हुँदैन ।’ अध्यक्ष मल्लले भन्नुभयो -‘आर्थिक चपेटाका बीच पनि स्वास्थ्यप्रति संबेदनशील हुने बेला हो ।’ सोमबार गड्डाचौकी नाकाबाट २४५ जना र गौरीफन्टा नाकाबाट ३४४ जना स्वदेश फर्किएको थिए ।

गड्डाचौकीनाकाबाट भारत मजदुरीका लागि जाँदै गरेका लालझाँडी गाउँपालिकाका पुरन रानाले आफू भारतको सिमाला गइरहेको बताउनुभयो । ‘यो स्याउ टिप्ने मौसम हो ।’ उहाँले भन्नुभयो–’हामीले स्याउ टिपेर कमाएको पैसाले घर खर्च चल्छ ।’ लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउन समस्या हुन थालेपछि भारत जान लागेको सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्