Logo
|
Friday 29th March 2024
Logo

epaper

कोरोना संक्रमणबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा उपचाररत थप २ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा कोरोना सङ्क्रणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा. आशिस श्रेष्ठले जानकारी दिनुभयो ।

मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।

हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्