‘हामी धर्म र इमान्दारिता छोड्दैनौं’
महामारीका शुरुका दिनहरुमा देशमा विद्यमान अन्यौल तथा भयको वातावरणलाई चिर्दै कोभिड—१९ उपचारमा ह्याम्सले जोखिम मोलेर उपचार शुरु गर्यो । भेन्टिलेटरमा राखेर कोभिड—१९ को सफल उपचार गर्ने पहिलो हस्पिटलका रुपमा आफूलाई स्थापित पनि गरायो । तर अहिले शुल्कको विषयलाई लिएर निजी अस्पतालहरु र सरकारबीच दूरी बढेकोे छ । अहिलेको अवस्थामा निजी अस्पताल किन महँगा भए र यसका मुख्य कारण आम जनचासोको विषय बनेको छ । यसै सेरोफेरोमा रहेर ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्मासँगको अन्तर्वार्ता यस अंकमा प्रस्तुत गरेका छौं ।
कोभिड र ननकोभिड उपचारमा सफलताको ह्याम्स अस्पतालको राज के हो ?
ह्याम्स नितान्त इमान्दार हस्पिटल हो । कर्मचारीहरुको काम मात्र होइन, हस्पिटलको नीति नै इमान्दारितामा आधारित छ । साथै आफ्नो उत्तदायित्वप्रति पनि हामी त्यतिकै सजग छौं । अस्पताल सञ्चालनका लागि टिम, आत्मविश्वास तथा सहकार्यको जरुरत पर्छ । हामी कोभिड—१९ उपचारका लागि पूर्व तयारी अवस्थामा थियौं । करिब ७ महिनाअघिबाट नै मुलुकमा कोभिडको भयावह अवस्था आउने कुरा देखेका थियौं ।
त्यसैले पूर्व तयारीका साथ उपचार प्रोटोकलहरु बनाउन शुरु गर्यौं । उपचारमा संलग्न चिकित्सक, नर्स, प्यारामेडिक्स, अस्पताल प्रशासकबीच समन्वय र सहकार्य गरेर तयारी अवस्थामा रहेका कारण काम गर्न सजिलो भयो ।
हामीलाई विश्वास गरेर यस अस्पतालमा उपचार गर्ने सोच बनाएका कोभिड बिरामीहरुको उपचार गर्नु हाम्रो धर्म हो । अस्पतालमा कार्यरत सबै चिकित्सक, नर्स, प्यारामेडिक्सलगायत सबै कर्मचारीहरुले भय र त्रासबाट मुक्त भएर कोभिड उपचार गर्ने एक्यवद्धता जनाउनुभयो । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको गाइडलाइन फलो गर्दै हस्पिटलको प्रकृति, मानव श्रोत र संरचनाको आधारमा उपचारको आफ्नै प्रोटोकल बनायौं । हस्पिटलको ३ वटा लिफ्टमध्ये पछाडिको एउटा लिफ्ट कोभिडका बिरामीका लागि मात्र छुट्याइएको छ । मुख्य प्रवेशद्धारबाट कोभिडको बिरामी आउन पाइँदैन । त्यसैले कोभिड र नन कोभिड बिरामीहरुलाई सुरक्षित र गुणस्तरीय उपचार सेवा दिन सफल भएका छौं ।
महामारीमा सुरक्षित तरिकाले कसरी उपचार सेवा दिन सकिन्छ ?
सुरक्षाका सम्पूर्ण विधि अपनाएर उपचार गर्दा कुनै फरक पर्दैन । कोभिड उपचारमा संलग्न हरेक स्वास्थ्यकर्मीले सावधानी अपनाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा हाइएष्ट लेवल अफ प्रिकसन र युनिर्भल प्रिकसन) नै हो । अस्पताल आउने हरेक बिरामीलाई कोभिड बिरामी सम्झेर उपचार गरेमा सावधानीको लेवल उच्च हुन्छ र स्वास्थ्यकर्मीलाई सर्न सक्दैन । साथै एकबाट अर्को बिरामीमा पनि फैलन पाउँदैन ।
नेपाल लगायत संसारको तथ्याङ्कले कोभिड आईसियूमा काम गरेका स्वास्थ्यकर्मीको तुलनामा नन कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण धेरै देखाएको छ । यो लेबल अफ प्रिकसन कमजोर भएकाले नै हो । हाम्रो हस्पिटलमा कोभिड बिरामी उपचार गर्ने स्वास्थ्यकर्मी बिरलै संक्रमित भएका छन् ।
सफल उपचारका आधारहरु के के हुनसक्छन् ?
मानवश्रोत
पहिलो कुरा काम गर्ने डाक्टर नर्सलगायतका स्वास्थ्यकर्मीहरुमा आत्मविश्वास देखिनुपर्छ । उनीहरुको कन्फिडेन्सका कारण आज अस्पतालले कोभिड उपचारमा सफलता पाएको छ । त्यसैले स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र हुनुहुन्छ ।
उहाँहरुको अठोट, उपचार गर्ने प्रतिवद्धता र कन्फिडेन्सले गर्दा कोभिडका बिरामी उपचार गर्न सजिलो हुन्छ ।
संरचना
अस्पतालमा सबैभन्दा उच्चस्तरीय आईसियूको व्यवस्था हुनुपर्छ । हाम्रो हस्पिटलमा १८ वटा क्युविकल आईसियू रहेका छन् । प्रत्येक आईसियूमा हावा सर्कुलेट हुने एसी फरक छ । प्रत्येक आईसियूमा भिन्नाभिन्नै सर्कुलेटिङ एअर सिस्टम भएकाले अन्य क्युविकल बिरामी र स्वास्थ्यकर्मी कसैलाई पनि असर गर्दैन । अस्पतालमा निगेटिभ एअर प्रेसर आईसियूको पनि व्यवस्था छ । नेगेटिभ एअर प्रेसरले सबै हावा बाहिर फाल्ने भएकाले कोभिड फैलन पाउँदैन । संसारमा कोभिड देखिन अघि पनि क्षयरोगलगायत छुट्टै राखेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई यस अस्पतालमा आइसोलेसनमा उपचार गरिन्थ्यो । अस्पताल प्रवेशद्धार, निस्कने द्धार, छुट्टाछुट्टै लिफ्ट, व्यवस्थित आईसियू आदिका कारण उपचारमा कन्फिडेन्स लेवल उच्च हुन्छ । महामारीका शुरुका दिनमा कोभिड लेवल वनको हस्पिटल भएकाले उपचार गर्न नपाउने सरकारी तवरबाट आशय व्यक्त भएको थियो । त्यसपछि हामीले उपचार गर्न पनि छोड्यौं । अहिले बिरामी संख्या अत्यधिक बढेकाले दायित्वबाट पर हट्न सकेनौं र समय सापेक्ष प्रोटोकल परिवर्तन गरेर उपचार शुरु गर्यौं । सरकारको २० प्रतिशत वेड कोभिडका बिरामीहरुलाई अनिवार्य छुट्याउनुपर्ने प्रावधानअनुरुप सेवा दिइरहेका छौं । आजको विकराल दिन आउन सक्ने सम्भावना दखेरै उपचार शुरु गरेको भएता पनि हामीले कोभिडका बिरामीको उपचार गर्दा प्रश्न उठाइयो । एउटाबाट अर्कोमा कोभिड सरेमा त्यसको जिम्मेवारी लिनुपर्ने भन्ने सम्मका कुरा आएको थियो ।
सरकारले निजी अस्पतालहरुको योगदानको मूल्यांकन गर्नुपर्छ । अहिलेको समय सबैजना हातमालो गरेर महामारीबाट निस्कनुपर्ने बेला हो ।
ह्याम्समा उपचार सेवा महँगो भएको गुनासो प्रति के भन्नुहुन्छ ?
क्यानाडा, अष्ट्रेलिया, युरोपियन जस्ता सोसलिष्ट देशहरुमा निःशुल्क उपचार हुन्छ । तर त्यसमा कसै न कसैले पैसा तिर्नुपर्छ । अमेरिकामा इन्योरेन्स कम्पनिले पैसा तिर्छ भने युरोपमा सरकारले उपचार खर्च व्यहोर्छ । नेपालजस्तो मुलुकमा बिरामी आफैँले तिर्नुपर्छ । कोभिड आइसकेपछि सरकारले सबै पैसा आफैं तिर्ने भन्यो । त्यो सम्भव छ जस्तो पनि लाग्दैन । ‘पैसा तिर्न सक्नेलाई उपचार गर्न दिए हुन्छ’ भन्ने मेरो भनाइ हो । संसारभर नै सेवाको स्तर अनुरुपको शुल्क तोकिएको हुन्छ । यदि तपाईंले नेपाल वायु सेवा निगमका पाइलट, एअर होस्टेजलगायतका क्रु मेम्बर्सहरुलाई उपचार गरेको कुरा सोध्न चाहनुभएको हो भने त्यसमा उहाँहरुले झेली गर्नुभएको हो । साथै उहाँहरुले आफूले गरेको कमिटमेन्ट (प्रतिवद्धता) बाट पछि हटेको भन्ने जानकारी गराउन चाहन्छु । शुरुमा उहाँहरु शसस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँहरु ४—५ वटा निजी अस्पतालहरुमा धाइसकेर कुनै पनि निजी अस्पतालले भर्ना लिन नचाहेपछि हामीकहाँ गुहार्न आउनुभएको थियो । त्यो बेला हामीले उपचार गर्न चाहेका थिएनौं । तर उहाँहरुले ह्याम्स अस्पतालमा उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिठी लिएर आएकाले उपचार गर्न बाद्य भयौं ।
हामीले बोलाएर उपचार गरेका होइनौं । उहाँहरुले मन्त्रालयलाई चिठी लेखाएर ससस्त्र प्रहरी अस्पतालबाट हामीकहाँ सार्न लगाउनुभएको थियो । शसस्त्र प्रहरी अस्पतालमा जनरल वार्डमा बस्नुपर्ने भएकाले खाना राम्रो नभएको, डाक्टरले केयर नगरेको आरोप लगाउनुभएको थियो । यसबारेको समाचार पत्रिकामा पनि छापिएको छ ।
नचाँहिदा कुरा छपाएर उहाँले शसस्त्र प्रहरी अस्पतजस्तो उत्कृष्ट सेवा प्रदान गरिरहेको अस्पतालको बदनामी गर्नुभयो ।
उहाँहरु ह्याम्स हस्पिटलमा सेवा सुविधाका लागि आउनुभएको हो । तत्काल सार्न दवाव दिएर राति साढे एक बजे ह्याम्समा भर्ना गर्न बाद्य भएका थियौं । अस्पताल प्रशासनले शुरुमै शुःल्क दर बारे जानकारी गराएको थियो । अस्पताल बसेको तेस्रो दिनमा उहाँहरुले महँगोको आरोप लगाउनुभयो । सेवा सुविधा हाइक्लासको लिने, अनि महँगो भनेर हुन्छ ? क्रु मेम्बर्सहरुलाई सार्ने बेलामा उहाँहरुले हामीलाई कमिट्मेन्ट लेटर दिनुभएको थियो । यदि हामीले पनि बद्मासी नै गर्नुथियो भने त कमिट्मेन्ट लेटर पत्रिकामा पनि छपाउन सक्दथ्यौं होला नि । पैसा तिर्ने कमिट्मेन्ट लेटर (प्रतिवद्धता चिठी) दिएर पनि अस्पताललाई बदनामी गर्नतिर अग्रसर हुनु राम्रो नियत होइन । दुईदिनभित्र भुक्तानी दिने कुरा भएपनि अहिलेसम्म हामीले शुल्क भुक्तानी पाएका छैनौं । उहाँहरुले तिर्ने पैसा खुलाएको कमिट्मेन्ट लेटर हामीसँग सुरक्षित छ ।
यहाँ आएर उपचार गराउने प्रत्येक क्रु मेम्वर्स हामीसँग खुशी भएर धन्यवाद् दिएर जानुभएको छ । अनि पैसा तिर्ने बेलामा किचकिच गर्न पाइन्छ ? सुविधा विजनेश क्लासको खोज्ने अनि खर्च इकोनोमिक क्लासको तिर्छु भनेर पाइँदैन ।
निजी अस्पतालहरुले आफूखुशी शुल्क असुल्छन् भन्ने आरोपबारे यहाँको के भनाइ छ ?
कोभिडको उपचारमा राज्यले तोकेको मूल्य अवैज्ञानिक छ । त्यो मूल्य उपचार गरिदिएवापत् भर्पाई लिन बनाइएको मूल्य हो । हामीले निजी अस्पतालहरुको छाता संगठन अफिनसँग सहकार्य गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कुरा गर्दा इच्छा र चाहना भएका सक्षम व्यक्तिबाट शुल्क लिएर उपचार गर्नसक्ने मौखिक जानकारी पाएका थियौं ।
सरकारले तोकेको मूल्यमा अस्पतालको सुविधासम्पन्न क्याविनमा राखेर उपचार गर्न सकिँदैन । निजी अस्पतालहरुले अचाक्ली पैसा कमाउन आफूखुशी शुल्क राखेका हुँदैनन् । अहिलेको कोभिड महामारीमा अस्पतालको इन्फेक्सन रोकथाम, अतिरिक्त खर्च, डाक्टर नर्सको जोखिम खर्च त्यसमा समावेश गरिएको हुन्छ । यसमा हामीले रिक्स म्यानेज्मेन्टको कष्ट मात्र जोडेका हुन्छौं । संसारको जुनसुकै ठाउँमा पनि जोखिमपूर्ण काम गर्न ‘रिक्स म्यानेज्मेन्ट कष्ट’ लिने गरिन्छ । उपचारका लागि पिपिईलगायतका सुरक्षा सामाग्री खरीदमा खर्च गर्नुपर्छ । उपचारमा संलग्न हरेक स्वास्थ्यकर्मीको सुरक्षा हाम्रो दायित्व र जिम्मेवारी हो । उपचारमा संलग्न सम्पूर्ण कर्मचारीको कोरोना इन्स्योरेन्स गर्नुपर्छ । बेलाबेलामा स्वास्थ्यकर्मीहरुको पिसिआर गर्दा खर्च हुन्छ । हामी उपचारमा संलग्न हरेक स्वास्थ्यकर्मीको निःशुल्क उपचार गर्दछौं ।
अहिले बिरामीले उपचार गर्न पाउने ठाउँको अभाव छ । आईसियूमा वेड छैन । हाम्रो १८ वटा आईसियू वेड पूरै कोभिडका बिरामीले भरिएका छन् । बिरामी भर्ना गर्ने ठाउँको अभाव छ । हामी लुट्न नभएर विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बसेका छौं ।
हामीले लिएको शुल्क वैज्ञानिक तवरले निर्धारण गरिएको छ । सरकारले प्रतिदिन हल्का कोभिड बिरामीका लागि ३ हजार ५ सय, मध्यम खालको बिरामीलाई ७ हजार ५ सय र गम्भीर बिरामीलाई १५ हजार रुपियाँ दिने नीति अबलम्बन गरेको छ । अहिले सरकारले दिएको दरमा सरकारी अस्पतालमा पनि कोभिड बिरामीको उपचार हुन सक्दैन । सरकारले दिएको दरमा स्वास्थ्यकर्मीको जोखिम भत्ता, पिपिई, खाना, उपचार, अस्पताल शुल्क सबै त्यसैमा समावेश छ । आईसियूको भेन्टिलेटरमा गएको बिरामीको सरकारी अस्पतालमा पनि प्रतिदिन ३० देखि ४० हजार रुपियाँ खर्च लाग्नसक्छ । भेन्टिलेटरमा पुगेको बिरामीमा प्रयोग गर्ने औषधि नै महँगो छ । औषधि मात्र दैनिक २० देखि २५ हजारको हाराहारीमा आउनसक्छ । त्यसैले राज्यले कोभिड बिरामीको उपचारका लागि दिएको अनुदान अवैज्ञानिक छ ।
राज्यले दिएको शुल्कमा ‘ह्याम्समा कोभिड उपचार गर्छु’ भन्दा पाउने कि नपाउने ?
अनफर्चुनेट्ली आजको दिनमा पाइँदैन । तर ामीले उपचार गर्ने प्रत्येक बिरामी र उहाँका आफन्तलाई उपचार पद्धति तथा उपचार खर्चको बारेमा विस्तृत जानकारी गराएपश्चात् उहाँहरुको उपचार खर्च समेतको मञ्जुरीनामा लिएर मात्र उपचार गर्दछौं ।
सिटामोल नखाएपनि कोभिड बिरामीबाट अस्पतालले ९ दिनमा ९ लाख रुपियाँ असुल्यो भन्ने सुन्नमा आएको आरोप के हो ?
यो झुट कुरा हो । यहाँ जसलाई जे भन्दिएपनि भाको छ । जसले जे लेखिदिए पनि भाको छ । पहिलो कुरा ९ दिनमा सिटामोल पनि नखाईकन ९ लाख रुपियाँ आउँदै आउँदैन । यो हुँदैनहुन र मनगणन्ते कुरा हो । जसले त्यसो भन्छ, उनीसँग ९ लाखको बील पनि त होला नि । त्यो बील एकपटक हेर्न पाए हुन्थ्यो । अस्पतालसँग कुनै गुनासो भएमा अस्पताल प्रशासनसँग कुरा गर्दा भइहाल्थ्यो । उहाँले त्यहि बेलामा कम्प्लेन गर्न सक्नुहुन्थ्यो । आफूलाई चित्त बुझेको थिएन भने किन पैसा तिरेको ?
यो कानुनी राज्य हो । हामीले बद्मासी गरेमा कानुनी प्रक्रियामा जान पनि सकिन्छ । त्यसैले हुँदै नभएको झुटा आरोप लगाउन पाइँदैन । प्रमाणित गरेर देखाउन सक्नुपर्छ । अन्यथा यो माल इन्टेन्सन हो ।
मैलै अन्तर्वार्ताको शुरुमै भनेको छु हामी इमान्दारिता र धर्ममा टेकेर सेवा दिने संस्था हौं । यस्ता अनेकन मित्थ्या आरोपले हामी डगमगाउँदैनौं । हाम्रो जग बलियो छ । हामी आफ्नो पेशा तथा धर्मप्रति अडिग छौ र सँधै रहनेछौं ।