Logo
|
Sunday 26th January 2025
Logo

epaper

तपाईँले दैनिक प्रयोग गर्ने तौलिया राम्रोसँग धुने गर्नुभएको त छ ?

तौलियाले निम्त्याउने जोखिमको सामना कसरी गर्ने?



नेपाल हेल्थ न्युज, काठमाडौँ । हामीले जिउ र हात पुछ्ने तौलिया धेरै पटक प्रयोग गरिन्छ र त्यस क्रममा धेरै सूक्ष्म जीवहरू त्यसमा रहन्छन्। बारम्बार प्रयोग भैरहने तौलिया धुन हामीले कति समय पर्खिनुपर्छ?

सायद तपाईँले आजै पनि नुहाएपछि एउटा तौलियाले आफ्नो शरीर पुछिसक्नुभएको हुनसक्छ। तर तपाईँले आफ्नो जीउ सुकाउन प्रयोग गरेको तौलिया कतिको सफा थियो? हामी मध्ये धेरैले तौलियालाई हप्तामा एक पटक धुन्छौँ।

तर एक सय मानिसमा गरिएको एउटा अध्ययनमा एक तिहाइ मानिसले महिनामा एक पटक मात्रै तौलिया धुने गरेको पाइएको छ। यूकेमा गरिएको एउटा सर्वेक्षण अनुसार कोही-कोही मानिसले वर्षमा एक पटक मात्रै तौलिया धुने गरेको स्वीकारेका छन्।

तौलियाका भूवाहरूमा मैलो भएको कुनै सङ्केत नदेखिन सक्छ तर तिनीहरू लाखौँ जीवाणुहरूको प्रजनन स्थल हुन्। अध्ययनले मान्छेको छालामा पाइने ब्याक्टेरियाबाट तौलिया चाँडै दूषित हुनसक्ने देखाएको छ।

नुहाइसकेपछि पनि हाम्रो शरीर माइक्रोब्स अर्थात सूक्ष्म जीवाणुले ढाकेको हुन्छ र हामीले तौलियाले शरीर पुछ्दा ती जीवाणुहरू तौलियामा सर्छन्।

तर हाम्रो तौलियामा हुने जीवाणुहरू अन्य स्रोतहरूबाट पनि आएका हुन्छन्। सुकाइरहेका बेला हावामा रहेका ब्याक्टेरिया र ढुसीहरू तौलियाको भूवामा आएर बस्न सक्छन्।

केही ब्याक्टेरियाहरू हामीले तौलिया धुन प्रयोग गरेको पानीबाटै आएका हुन्छन्। जापानमा, कतिपय घरपरिवारले भोलिपल्ट लुगा धुनका लागि नुहाएर रहेको बाँकी पानी पनि प्रयोग गर्छन्। जापानको टोकुशिमा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनले त्यसो गर्दा पानी जोगिए पनि प्रयोग गरिएको नुहाउने पानीमा धोइएका तौलिया र कपडामा ब्याक्टेरिया पाइएको पत्ता लागेको थियो।

र, हामी जो हाम्रो तौलियालाई शौचालयमै रहेको डन्डीमा सुक्नका लागि झुन्ड्याउँछौँ, त्यहाँ पनि प्रत्येक पटक कमोड फ्लश गर्दा त्यहाँबाट ब्याक्टेरियाहरू तौलियाका भुवामा जान्छन्। त्यसबाहेक परिवारका अन्य सदस्यले प्रयोग गर्दा पनि त्यसैगरी ब्याक्टेरिया तौलियामा गएको हुन्छ।

समय बित्दै जाँदा यी सूक्ष्मजीवहरूले तौलियामा ‘बायोफिल्म’हरू बनाउन थाल्छन् जसले हाम्रा तौलियाहरू पनि फरक रङ्गको देखिन थाल्छन्।

नियमित तौलिया धुने गर्दा पनि दुई महिनापछि तौलियामा रहेका ब्याक्टेरियाले तौलियाको रङ्ग फिक्का बनाइदिन्छ। तर घरमा लुगा धुने प्रचलनले पनि ब्याक्टेरिया कति हुने भन्ने निर्भर हुन्छ। खासमा तपाइँको तौलियामा बस्ने ब्याक्टेरियाबारे तपाईँ कत्तिको चिन्तित हुनु पर्छ त?

तपाईँले अरूले प्रयोग गरेको तौलिया प्रयोग गर्नुभयो भने जोखिम बढ्छ

तौलिया धुने विषय मामूली जस्तो लाग्न सक्छ तर जीवविज्ञानकी प्राध्यापक तथा अमेरिकाको बोस्टनस्थित सिमन्स विश्व विद्यालयको घर र समुदायमा स्वच्छता केन्द्रकी सह-निर्देशक रहेकी एलिजाबेथ स्कट तौलियाबाट घरमा कसरी जीवाणुहरू फैलिन्छ भन्ने विषयमा चासो राख्छिन्।

“स्वाभाविक रूपमै जीवाणुहरू तौलिया वरिपरि बसिरहेका होइनन्,” उनी भन्छिन्। “तौलियामा हुने हानि पुर्‍याउने कुनै पनि कुरा मानिसबाटै आएको हुन सक्छ।” वास्तवमा हाम्रो छालामा अन्य धेरै भाइरस र ढुसीसँगै १,००० विभिन्न प्रजातिका ब्याक्टेरियाहरू हुन्छन्।

तर ती धेरैजसो हाम्रा लागि वास्तवमा राम्रा छन् – हामीलाई अन्य कम अनुकूल ब्याक्टेरियाहरूबाट हुने सङ्क्रमणहरूबाट जोगाउन मद्दत गर्दछन्। हामीले दैनिक जीवनमा सामना गर्ने केही रसायनहरूलाई तोड्न र हाम्रो प्रतिरक्षा प्रणालीको विकासमा ती व्याक्टेरियाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्।

तौलियामा भेटिने धेरै ब्याक्टेरियाहरू हामीले हाम्रो छालामा भेट्टाउने उस्तै प्रजातिहरू हुन्, तर ती हाम्रो वातावरणमा पनि सामान्य रूपमा भेटिन्छन्। यसमा स्टाफलककश ब्याक्टेरिया र यासरिका कोलाइ प्रजातिहरू समावेश छन् जुन सामान्यतया मान्छेको पेटमा भेटिन्छ। तर साल्मोनेला र शिगेला ब्याक्टेरिया पनि छन् जसले खानेकुराबाट सर्ने रोग निम्त्याउँछ र पखाला पनि लाग्छ।

तर यी ब्याक्टेरियाहरू मौका कुरेर बस्ने प्रकृतिका जीवाणु पनि हुन् जो अधिक हानि पुऱ्याउन सक्ने स्थानमा नपुग्दासम्म हानी नगर्ने खालका हुन्छन्। तर काटेको ठाउँमा पर्दा तिनीहरूले निश्चित विषाक्त पदार्थहरू उत्पादन गर्ने क्षमता विकास गर्न वा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई सङ्क्रमण गर्न सक्छन्।

सङ्क्रमणविरुद्ध हाम्रो छालाले नै एउटा प्राकृतिक बाधकका रूपमा भूमिका खेल्छ। ब्याक्टेरिया र अन्य रोग निम्त्याउने किटाणुहरूका लागि यो हाम्रो पहिलो प्रतिरक्षा हो। त्यसैले तौलियाबाट ब्याक्टेरिया हाम्रो छालामा सर्नेबारे हामीले त्यति धेरै चिन्ता लिनुपर्दैन।

तर छालालाई धोइपखाली गर्ने र तौलिया पुछ्ने गर्दा त्यसबाट सङ्क्रमण रोक्ने जुन छालाको प्राकृतिक भूमिका हुन्छ त्यो बिथोलिन सक्छ। सायद सबैभन्दा ठूलो समस्या तब हुन्छ जब हामीले आफ्नो मुख, नाक र आँखा छुनुअघि तौलियाले हात पुछ्ने गर्छौँ त्यो बेला सम्भावित हानिकारक जीवाणुहरू त्यसमा सर्न सक्छन्।

यसको मतलब हामीले हात पुछ्न प्रयोग गर्ने तौलियाहरूलाई सायद बढी ध्यान दिन आवश्यक छ। भान्सामा प्रयोग हुने तौलिया पनि रोग फैलाउने अर्को स्रोत हो।

अध्ययनहरूले कोभिड-१९ जस्ता भाइरसहरू कपासमा २४ घण्टासम्म बाँच्न सक्ने पत्ता लगाएका छन्। यद्यपि दूषित सतहहरूलाई छोएको कारणले नै मुख्यगरी उक्त भाइरस सर्ने गर्छ भनेर ठान्ने गरिएको छैन।

तर सम्पर्कबाट फैलिने एमपक्सजस्ता अन्य भाइरसहरूको जोखिम भने बढी हुन सक्छ। स्वास्थ्य अधिकारीहरूले सङ्क्रमित व्यक्तिहरूको तौलिया प्रयोग नगर्न सिफारिस गर्छन्।

अनुसन्धानले ह्युमन प्यापिलोमाभाइरस पनि तौलियाका माध्यमबाट अन्य व्यक्तिमा सर्नसक्ने देखाएको छ। पुन: प्रयोग गरिने हाते रुमालहरूबाट सङ्क्रमण सर्न सक्ने जोखिमका कारण अस्पताल र सार्वजनिक शौचालयहरूले कागजका रुमालहरू वा हावाबाट हात सुकाउने व्यवस्था गर्न थालेका छन्। तर यी मध्य कुन चाहिँ उत्तम विकल्प हो भन्ने विषय अनिर्णित नै रहेको छ।

धोएपछि घाममा तौलिया सुकाउँदा त्यसबाट ब्याक्टेरियाको मात्रा घट्न मद्दत पुग्नसक्छ

जति लामो समयसम्म हामी तौलिया प्रयोग गर्छौँ र जति लामो समय प्रयोग गरेको तौलिया चिसै छोड्छौँ हानिकारक जीवाणु वृद्धि हुनका लागि त्यो वातावरण त्यति नै उपयुक्त हुन्छ।

स्कट र उनका सहकर्मीहरूका अनुसार तौलियाको सरसफाईबारे सोच्दा यसले विश्वले सामना गरिरहेको एउटा स्वास्थ्य समस्यासँग जुध्न मद्दत गर्नसक्छ। त्यो हो एमआरएसए जस्ता एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया, जुन सङ्क्रमित बस्तुहरूको सम्पर्कमा आउँदा सर्न सक्छ।

कार्डिफ युनिभर्सिटीका फार्मास्युटिकल माइक्रोबायोलोजीका प्राध्यापक जँ-इभ मियारले नियमित तौलिया धुने बानी गर्दा त्यसले ब्याक्टेरियाको सङ्क्रमणलाई कम गर्छ र परिणाम स्वरूप एन्टिबायोटिकको प्रयोगलाई पनि कम गर्न मद्दत गर्ने बताएका छन्।

“घरको स्वास्थ्य स्वच्छता भनेको रोगको रोकथामसँग सम्बन्धित छ र उपचारभन्दा रोकथाम राम्रो हुन्छ,” मियार भन्छन्। त्यसो भए हामीले हाम्रो तौलिया कति पटक धुनुपर्छ? स्कट हप्तामा एक पटक तौलिया धुने सुझाव दिन्छिन्। यद्यपि उनको यो सुझाव कुनै निश्चित नियम भने होइन।

“धुने नियमको धेरै अर्थ रहँदैन किनभने कोही मानिस बिरामी छ भने उसलाई बान्ता हुने र पखाला लाग्ने गरेको हुन सक्छ,” उनी भन्छिन्, “त्यस्तो अवस्थामा उनीहरूको लागि आफ्नै अलग्गै तौलिया हुनुपर्छ र त्यस्तो तौलिया दिनदिनै धुनुपर्छ। त्यो भनेको जति बेला जोखिम देखापर्छ त्यति नै बेला नै त्योसँग जुझ्ने सरसफाइको उपाय अपनाउनु पर्छ जस्लाई हामी लक्षित स्वच्छता भन्छौं।”

भारतमा गरिएको एउटा अध्ययनले सहभागीहरू मध्ये २०% मानिसहरूले आफ्नो तौलिया हप्तामा दुई पटकसम्म धुने गरेको पत्ता लगाएको थियो।

तौलियाले निम्त्याउने जोखिमको सामना कसरी गर्ने?

‘लक्षित स्वच्छता’ भनेको स्वच्छताको लागि जोखिम व्यवस्थापनसम्बन्धी दृष्टिकोण हो जसलाई द ग्लोबल हाइजीन काउन्सिल र इन्टरनेशनल साइन्टिफिक फोरम अन होम हाइजिनसँग सम्बद्ध अनुसन्धानकर्ताहरूले विकसित गरेका हुन्। लक्षित स्वच्छता समय र स्थानहरूमा केन्द्रित हुन्छ जहाँ यी अभ्यासहरू महत्त्वपूर्ण हुन्छन्।

स्कटका अनुसार तौलियालाई धेरै तातो (४०-६०सी, १०४-१४०एफ) र प्रायः एन्टिमाइक्रोबियल डिटर्जेन्टहरू थपेर अन्य घरेलु कपडाहरू भन्दा लामो समय धुन आवश्यक पर्दछ। डिटर्जेन्टहरूले ब्याक्टेरियालाई कपडामा टाँसिन नदिन र केही भाइरसहरूलाई निष्क्रिय पार्न मद्दत गर्न सक्छन्।

कम तापक्रममा तौलिया धुँदा पानीमा इन्जाइमहरू थप्दा वा ब्लीच गर्दा तौलियामा भएका सूक्ष्मजीवहरूसँग लड्न मद्दत पुग्न सक्छ। भारतमा भएको एउटा अध्ययनले डिटर्जेन्ट र कीटाणुनाशक मिलाएर धोएको तौलियालाई निचोरेर घाममा सुकाउँदा ब्याक्टेरिया र ढुसी कम गर्न सबैभन्दा प्रभावकारी भएको पाइएको छ।

स्कटले घरको स्वच्छताको विषयलाई केही हदसम्म खोप लिएको जस्तो ठान्छिन्। यस विषयमा अपनाइने हरेक सानो कदमले तपाईँ र तपाईंको वरपरका मानिसहरूलाई जोगाउन सकिन्छ। “तौलिया हेर्दा सानो जस्तो लाग्छ। तर तौलियाले निश्चित जोखिमहरू सिर्जना गर्न सक्छ र त्यसको सामना गर्न पनि सजिलो छ,” उनले भनिन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्