Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्वास्थ्य क्षेत्र मजबुत बनाउन मेरो उम्मेदवारी-भक्त हमाल

मेरो लडाई नीति निर्माणमा केन्द्रित



आसन्न नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशन आगामी मंसीर ११ देखि शुरु हुँदैछ । निर्वाचनमा स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान) को प्रतिनिधित्व गर्दै भक्त हमालले महासंघको वस्तुगत तर्फ कार्यसमिती सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । हमालले चन्द्रप्रसाद ढकाल तथा उमेशलाल श्रेष्ठ समुहको वस्तुगत तर्फको सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।

हमाल विगत २६ वर्षदेखि मेडिकल सामाग्री आपूर्ति व्यवसायमा आवद्ध रहँदै आउनुभएको छ । उहाँ केमसानका निवर्तमान अध्यक्ष हुनुहुन्छ । यस्तै, हमालले नेपाल जर्मन चेम्वर्स अफ कमर्स एण्ड इन्डष्ट्रिज (एन.जि.सि.सि.आई.) को कोषाध्यक्ष रहेर काम गरिसक्नुभएको छ । हाल उहाँ सर्जिकल व्यवसायसँग सम्बन्धित सुदिप इन्टरनेशनल प्रा.लि.का अध्यक्ष, मेडिका इन्टरप्राइजेज प्रा.लि.का प्रवन्ध निर्देशक, चितवन भ्याली मोडेल हस्पिटल र चितवन एकेडेमी फर टेक्निकल एजुकेसनका निर्देशक हुनुहुन्छ । मेडिकल सामाग्री आपूर्ति व्यवसायीहरुको प्रतिनिधित्व गर्दै महासंघको वस्तुगततर्फ सदस्य पदमा उम्मेदवारी दिनुभएका हमालससँग निर्वाचनका एजेण्डामा केन्द्रित रहेर नेपाल हेल्थ न्यूजडटकम र जनस्वास्थ्य सरोकारले गरेको कुराकानीको सारसंक्षेपः

महासंघमा यहाँको उम्मेदवारी किन र के का लागि ?

स्वस्थ व्यक्ति हुन स्वस्थ जनशक्ती, भौतिक संरचना र मेडिकल टेक्नोलोजीको भूमिका महत्वपूर्ण हुन्छ । विश्वमा उत्पादन र आविष्कार भएका अत्याधुनिक मेडिकल टेक्नोलोजीहरु नेपालमा भित्र्याउने र अस्पताल लगायतका सम्बन्धित स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउदै आएका छौं । अत्याधुनिक उपकरणहरु प्रयोगका बारेमा सम्वन्धित जनशक्तिहरुलाई जानकारी र सुसुचित गर्दै आएका छौं ।

म विगत २६ वर्षदेखि स्वास्थ्य सामाग्री आपुर्ति व्यवसाय गर्दै हुनाले स्वास्थ्य क्षेत्रका विविध समस्या बारेमा मलाई राम्रोसँग अवगत छ । स्वास्थ्य क्षेत्रभित्र देखिएका विकृतिलाई केलाउँदै, नियाल्दै समस्या सम्वोधनमा प्रयास गर्दै आएको छु । बि.सं.२०६१ सालमा स्थापना भएको केमसानले मुलुकमा रहेका तीन सय भन्दा बढी स्वास्थ्य सामाग्री आपूर्ति व्यावसायीहरुको प्रतिनिधित्व गर्छ ।

स्थापनाकालदेखिनै म यस संस्थाप्रति क्रियाशील छु । मैले दुई वर्ष (सन् २०१५–२०१७) सम्म केमसानको नेतृत्वमा रहेर काम गर्ने अवसर पाएँ । र, सोही समयमा देशमा भुकम्प पनि गयो, नाकाबन्दीको सामना गर्नुप¥यो । यस्तो कठिन घडीमा पाएको जिम्मेवारीलाई मैले आफ्नो क्षमता र समन्वयमा सम्पन्न गर्न सफल भएँ ।

अहिले स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघमा वस्तुगत सदस्यता तर्फ उम्मेदवारी दिएको छु । ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा नीतिगत तहमा योजना बनाउन उम्मेवारी आवश्यक छ’ भन्ने मान्यताका साथ केमसानले मलाई पठाएको छ ।

‘सम्वन्धित सबै सरोकारवाला व्यक्तिहरुलाई अनुरोध गर्दै निर्वाचनमा आफ्नो मत अधिकार प्रयोग गरेर निर्वाचित गरीदिनुहुन्छ’ भन्ने अपेक्षाका साथ अनुरोध गर्न चाहन्छु । आशा छ मलाई साथ दिनुहुनेछ र, म स्वास्थ्य क्षेत्रमा मात्रै केन्द्रित नभई समग्र उद्योगी, व्यावसायीहरुको समस्या सम्वोधनका लागि कटिबद्ध भएर लाग्नेछु ।

स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायले देशको लागि के योगदान गरेको छ ?

स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायीहरुले राज्यलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । राजस्व संकलनमा ठूलो योगदान छ । स्वास्थ्य सामाग्री आपूर्तीको क्षेत्रबाट मुलुकमा बार्षिक २० अर्ब रुपियाँ बराबरको कारोवार हुने गरेको छ ।

स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायका मुख्य समस्याहरु के देख्नुभएको छ ?
स्वास्थ्य क्षेत्रमा चुनौतिका चाङ छन् । अहिलेसम्म स्वास्थ्य सामाग्री आयात सन्दर्भमा नीति नै बन्न सकेको छैन । कुनै मापदण्ड पनि छैन । बार्षिक अर्बौको कारोबार हुने गरेपनि मेडिकल सर्जिकल सामाग्रीहरु आयात सन्दर्भमा ठोस मापदण्ड नै छैन । सरकारी तवरबाट अनुगमन संयन्त्र पनि छैन ।

संवेदनशील स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने उपकरणहरुको व्यवसायमा सरकार जिम्मेवार नभएको पाइएको छ । त्यसैले पनि सरकारले नियमनकारी भूमिका निर्वाह गर्न आवश्यक छ । र, स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायलाई थप मजबुत र जिम्मेवार बनाउनुपर्छ । मापदण्डभित्र रहेर मात्र स्वास्थ्य सामाग्री आयात गर्नुपर्छ । विगत लामो समयदेखि यो मुद्धा उठाउँदै आएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

जसकारण अहिले कोभिड—१९ को महामारीको रोकथाम र नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामाग्री जसले जे ल्याएपनि हुने प्रवृत्ति बढेको छ । गुणस्तरमा समेत प्रश्न खडा भएको छ । यसैको परिणाम स्वरुप पीसीआर परीक्षणमा समेत ‘कन्फ्यूजन’ नतिजाहरु प्राप्त भएका समाचारहरु आइरहेका छन् ।

स्वास्थ्य सामाग्री आपूर्तिको क्षेत्रमा देखिएका समस्या न्यूनिकरणमा यहाँको पहल कस्तो रहन्छ ?
अहिलेसम्म नेपाल उद्योग वाणिज्य महासंघमा केमसानको तर्फबाट कुनै पनि प्रतिनिधि नेतृत्वदायी भूमिकामा पुग्न सकेका छैनन् । यो क्षेत्रबाट मेरो उम्मेदवारी सायद पहिलो नै हुनसक्छ । सबैभन्दा महत्वपूर्ण कुरा त स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायलाई मजबुत र जिम्मेवार बनाउन नीति बन्नुपर्छ । नीति विना अनुगमन गर्न सकिदैंन । मेरो लडाई नीति निर्माणका लागि हुनेछ । नीति बन्यो भने ७० देखि ८० प्रतिशत समस्याहरु समाधान गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्