जाजरकोट एम्बुलेन्सविहीन, बिरामी बोक्न डोको
मर्मत गर्न लगेको एम्बुलेन्स दुई वर्षदेखि ग्यारेजमै थन्कियो
जनस्वास्थ्य सरोकार, जाजरकोट । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म बित्दा पनि एम्बुलेन्स मर्मत नभएपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । यसरी एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउनु पर्ने बाध्यता रहँदै आएको छ ।
अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले जानकारी दिनुभयो ।
एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको छ । एम्बुलेन्स सञ्चालनमा नरहे पनि चालकले भने नियमित तलब भत्ता खाइरहेका छन् । रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोटमा एउटा पनि एम्बुलेन्स छैन ।
जिल्लानै एम्बुलेन्सविहीन हुँदा पनि मर्मत गरी सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुःखद् पक्ष रहेको नागरिक बताउँछन् । एम्बुलेन्स नहुँदा स्थानीयले स्ट्रेचर र डोकोको सहारा लिने गरेका छन् भने जिल्लाबाहिर लैजान सार्वजनिक तथा निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ ।