Logo
|
Saturday 20th April 2024
Logo

epaper

पिसीआर रिपोर्टमा अस्पताल र प्रयोगशालाको बदमासी नभएको समितिको निष्कर्ष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र मन्त्रालयबीच समन्वयको कमी



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस पहिचानका लागि आवश्यक मानिएको आरटीपिसीआर परीक्षणमा दुई निजि अस्पताल र दुई प्रयोगशालाले बदमासी नगरेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानविन समितीले ती अस्पताल र प्रयोगशालाले हङकङ उडानमा रहेका व्यक्तिहरुको पिसिआर रीपोर्टमा बदमासी नदेखिएको निष्कर्ष निकालेको हो ।

केही समयअघि हङकङ उडानका क्रममा स्टार हस्पिटल, ह्याम्स हस्पिटल, सेन्टर ल्याव र सुरीया डाइग्नोष्टिक पिसिआर परीक्षण गरिएका केही व्यक्तिहरुको गरिएको आरटी पिसिआर परीक्षण हङकङमा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि नेपाल वायुसेवा निगमको उडान स्थगित भएको थियो ।

गत मंसीर ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा.मुकुन्दा शर्माको नेतृत्वमा तीन सदस्यीय छानविन समिती गठन गरेको थियो ।

छानविन समितीले स्वाव संकलन नगरी रिपोर्ट दिएको भन्ने आरोपमा कलेक्सन सिट हेर्दा कलेक्सन गरेको निष्कर्ष निकालेको छ । यस्तै, अनुगमनका क्रममा समितिले नेगेटिभ आएकालाई पोजेटिभ र पोजेटिभ आएकालाई नेगेटिभ रिपोर्ट दिएर रिपोर्ट म्यान्युपुलेट गरिएको भन्ने आरोपमा नमुना रन गरेको र सही रिपोर्ट दिएको छानविनका क्रममा पाएको छ ।

समितिले परीक्षणका लागि आएकाहरुको परिचयपत्र लिएर मात्र नमुना संकलन गरी रिपोर्ट उपलब्ध गराउन समेत सुझाव दिएको छ । सरकारले भनेबमोजिम नमुना भण्डारण नगरिएको भन्नेमा भण्डारण नगरिएको पाइएको समितीको सुझाव प्रतिवेदनमा उल्लेख छ । यद्यपी यो विषय विरोधाभाषपूर्ण रहेको छानविन समितीका एक सदस्य बताउँछन् ।

गत साउन ९ गते स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको आन्तरिम गाइड लाइन फर सार्स कोभ टू पिसिआर ल्याबोरेटोरिज इन नेशनल पब्लिक हेल्थ ल्याबोरेटोरी नेटवर्क नेपालमा पिसीआर परीक्षण गर्दा पोजेटिभ आएका व्यक्तिको नमुना एक महिनासम्म र नेगेटिभ आएका व्यक्तिको नमुना ४८ घण्टा राख्नुपर्ने प्रावधान छ । तर, स्वास्थ्य मन्त्रालयले गत भदौ ३१ मा बसेको बैठकले पोजेटिभ नतिजाको नमुना कम्तिमा तीन महिना र नेगेटेभि आएमा एक महिना राख्नुपर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयको निर्णय अन्तिम हुने स्वास्थ्य मन्त्रालयका आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख समेत रहनुभएको सहप्रवक्ता डा.समीर कुमार अधिकारीले बताउनुभयो । अस्पताल र प्रयोगशालाहरु भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गाइडलाइन अनुसार नै स्वावको नमुना भण्डारण गर्न चुकेका छैनन् ।

गत मंसिर ५ गते सो प्रतिवेदन स्वास्थ्य मन्त्रालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख समेत रहनुभएको सहप्रवक्ता डा.समीरकुमार अधिकारीलाई छानविन समितीको टोलीले बुझाएको थियो । सहप्रवक्ता डा. अधिकारीले समितीले ती अस्पताल र प्रयोगशालाहरुको पिसीआर परीक्षण सम्बन्धि देखिएको वास्तविकताको प्रतिवेदन प्राप्त भएको बताउनुभयो ।

यता, ललितपुरको सानेपास्थित स्टार हस्पिटलले आफ्नो प्रयोगशालाबाट आरटिपिसीआर रिपोर्ट गलत नगएको स्पष्ट पारेको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षण रिपोर्टमा उठाइएको शंका हल्ला मात्रै भएको स्पष्ट पारेको हो ।

आरटी पीसीआर रिपोर्ट आफैमा शतप्रतिशत एक्विरेट जाँच नभएको र यसको एक्विरेसी ६७ देखि ७० प्रतिशत हुने विश्वव्यापि मान्यता छ । कुनैपनि व्यक्ति स्वाव दिँदा संक्रमण अवधि वा विन्डो पिरियडमा रहेको बेला नेगेटीभ पनि आउन सक्ने स्टार हस्पिटलका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले बताउनुभयो ।

डा. रुपाखेतीले अस्पतालको नाम जोडेर कोरोना परीक्षण नै नगरी नक्कली रिपोर्ट दिएको भन्नु निराधार मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालले एक्टर्नल क्वालिटी एस्सेसमेन्टको निम्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरेको स्वावमा तीन वटा स्वाव हङकङ जाने व्यक्तिहरुको पनि रहेको थियो । ती स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको एक्टर्नल क्वालिटी एसेस्मेन्टमा पनि नेगेटिभ नै आएकोले सो व्यक्तिहरु स्वाव दिएको समयमा नेगेटिभ नै रहेको पुष्टि हुन्छ । ती तीनवटा स्वाव अहिलेपनि अस्पतालको भण्डारणमा सुरक्षित रहेको जानकारी गराउँछौं । ’

 

प्रतिक्रिया दिनुहोस्