Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मृतकको शरीरबाट अवैध रूपमा अङ्ग निकाल्ने चिकित्सकलाई जेल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनमा मृतकको शरीरबाट अवैध रूपमा अङ्ग निकाल्ने चिकित्सकहरूलाई जेल सजाए सुनाइएको छ । दुर्घटनामा परेर मृत्यु भएका मानिसको शरीरबाट अवैधानिक रूपमा अङ्ग चार्ने चिकित्सक सहित ६ जनाको गिरोहलाई जेल चलान गरिएको चिनिया सञ्चारमाध्यमले जनाएको छ ।

उक्त गिरोहले मृतकका परिवारजनलाई वैधानिक रूपमै अङ्गदान गरिएको भ्रममा पार्ने गर्दथ्यो ।

सन् २०१७ देखि २०१८ सम्म उक्त गिरोहले आन्हुई प्रान्तस्थित एउटा अस्पतालबाट ११ जनाको शरीरबाट कलेजो र मिर्गौला चोरेका थिए ।

त्यसपछि उत्त अस्पतालका सघन उपचार कक्षका प्रमुख याङ सुशुनले बिरामीका आफन्तलाई अङ्गदान गर्न इच्छुक भए नभएको सोध्थे। परिवारजनले सहमति दिँदै हस्ताक्षर गरिदिन्थे। तर त्यसका लागि उनीहरूलाई नक्कली कागजपत्र दिइन्थ्यो।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार उक्त गिरोहमा चार उच्चपदस्थ चिकित्सकहरू सामेल थिए। अस्पतालमा ल्याइएका कार दुर्घटनाका घाइते र मस्तिष्कमा रगत जमेर मृत्यु भएका बिरामी उनीहरूको तारोमा पर्ने गर्दथ्यो ।

मृतकको शरीरलाई मध्यराति बाहिर निकालेर एम्बुलेन्सजस्तो सवारीसाधनमा राखी अङ्ग निकालिन्थ्यो।

समाचारका अनुसार अनुसार त्यसपछि उक्त गिरोहले ती अङ्गहरू प्रत्यारोपणको पर्खाइमा बसेका व्यक्ति वा अस्पताललाई गोप्य रूपमा बेच्ने गर्दथ्यो ।

कसरी पत्ता लाग्यो अपराध?

एक मृतकका छोरालाई शङ्का लागेपछि उक्त गिरोहको कुकृत्य पत्ता लागेको थियो।

सन् २०१८ मा आफ्नी आमाको मृत्यु भएको केही महिनापछि शि नामक ती व्यक्तिले अङ्गदानका लागि सहमति दिँदा आफ्नो परिवारलाई दिइएको कागजपत्र फेरि हेरे। फारममा उनले खाली ठाउँ देखे र उनलाई अनियमितता भए जस्तो लाग्यो।

त्यसपछि उनले आफ्नी आमाको अङ्गदानको अभिलेख सरकारी निकायसँग नभएको पत्ता लगाए।

एउटा स्थानीय सञ्चारमाध्यमलाई उनले बताएअनुसार त्यसपछि डा. याङलाई त्यसबारे सोध्दा आफूलाई “मौन बस्न” ठूलो रकमको लोभ देखाइयो। “त्यतिबेला गलत कुरा भएको रहेछ भनेर म निश्चित भएँ,” शिले भने।

त्यसबारे उनले तत्कालै सरकारी अधिकारीहरूलाई सूचित गरे।

अङ्ग चोरी र तस्करी गर्ने गिरोहका छ जनालाई जुलाई महिनामा “नियतवश शव नष्ट पारेको” अभियोगमा सजाय सुनाइएको थियो। उनीहरूले १० देखि २८ महिनासम्म कारागरामा बस्नुपर्नेछ।

शिले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएपछि उक्त घटनाले अहिले चर्चा पाएको हो। बीबीसी

प्रतिक्रिया दिनुहोस्