Logo
|
Friday 26th April 2024
Logo

epaper

आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र सातै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै



?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज देशभर एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुने भएको छ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन लागेको हो ।

आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ ।


यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनालले सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गर्नुहुनेछ ।


यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।


मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताउनुभयो । सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्‍याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो ।


अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । स्थानीय तहमा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नुहुनेछ । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो ।

प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ ।


अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको हो । पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि रु ८५ लाख र १५ श्ययाका लागि रु एक करोड पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्