Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिडले विथोल्यो स्वास्थ्य तालिम



सन्देश श्रेष्ठ/ जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड–१९ महामारीका कारण क्लिनिकल तथा नन् क्लिनिकल स्वास्थ्य तालिम कार्यक्रमहरु प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २३ ओटा क्लिनिकल र नन् क्लिनिकल तालिम सम्पन्न गरिसक्नुपर्नेमा हालसम्म पनि ५३ प्रतिशत काम अझै सम्मन्न हुन सकेको छैन ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गर्दै गत आर्थिक वर्षमा भएका कार्यक्रमबारे जानकारी गराएको हो ।

केन्द्रले आर्थिक वर्ष २०७६/०७७ मा २३ ओटा विभिन्न किसिमका क्लिनिकल तथा नन् क्लिनिकल तालिमहरु सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण ४७ प्रतिशत मात्र कार्यक्रम सम्पन्न भएको केन्द्रका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी गराउनुभयो ।


कोभिड–१९ को सन्दर्भमा केन्द्रबाट थुप्रै प्रयासहरु भएकोे उहाँको दावी छ ।
केन्द्रले सात ओटा प्रदेश स्वास्थ्य तालिम केन्द्रहरु तथा ४९ वटा क्लिनिकल तालिम साइटहरुसँग समन्वयन र सहकार्य गर्दैै स्वास्थ्य तालिमको योजना बनाउने, तालिम सञ्चालन गर्ने तथा सुपरिवेक्षण र अनुगमन जस्ता कार्य गर्दै आइरहेको निर्देशक डा. घिमिरेले जानकारी दिनुभयो ।


केन्द्रले कोभिड–१९ महामारीका बेला स्वास्थ्यकर्मीहरुका लागि फोनमा आधारित तालिम, आईसीयूमा कार्यरत नर्सहरूका लागि संक्रमण रोकथाम सम्बन्धि तालिम, साथै देशका विभिन्न मुख्य अस्पतालहरुमा कार्यरत डाक्टर तथा नर्सहरुका लागि कन्ट्रयाक्ट ट्रेसिङ , इसेन्सियल क्रिटिकल केयर तालिम, २ हजार जना डाक्टर तथा नर्सहरुका लागि तनाव व्यवस्थापन सम्बन्धी तालिमहरु सञ्चालन गरेको केन्द्रले जनाएको छ ।
उक्त तालिमका लागि आवश्यक तालिम पाठ्यसामग्री तथा निर्देशिका समेत तयार पारिएको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र प्रसाद पंगेनीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो –‘केन्द्र आगामी दिनमा पनि गैर सरकारी संस्थाहरुसँग सहकार्य गरेर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणकालागि सधै लागि पर्नेछ ।’
उक्त कार्यक्रममा काठमाडौँ उपत्यकामा क्रियाशिल स्वास्थ्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्