कान्तिमा हेमोफिलिया बालबालिकालाई फ्याक्टर सुविधा
जनस्वास्थ्य सरोकार, काठमाडौं । बालबालिकाहरुको उपचार हुने एक मात्र केन्द्रीय कान्ति बाल अस्पतालमा हेमोफिलिया बालबालिकालाई फ्याक्टर दिन सुरु भएको छ । हेमोफिलिया सोसोसाईटी नेपालको समन्वयमा हेमोफिलिया भएका बालबालिकालाई फ्याक्टर दिने कार्य सुरु भएको हो ।
यसअघि अस्पतालले पिडियाट्रिक हेमाटोलोजी ओपीडी सञ्चालन गर्दै आएकोमा मंसिरको दोस्रो सातादेखि फ्याक्टरको सुविधा पनि उपलब्ध गराइएको हो । यो सेवा प्रत्येक साता सोमबार र बिहीबार सञ्चालन हुने गरेको छ ।
हेमाटोलोष्टिहरुका अनुसार, रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने समस्या हेमोफिलिया भएको र यस्ता व्यक्तिलाई रक्तश्राब नियन्त्रण गर्न फ्याक्टर दिनुपर्छ ।
हेमोफिलिया सोसाइटीका अनुसार देशभर झण्डै तीन हजार हेमोफिलिया भएका व्यक्ति रहेको अनुमान छ ।
जनचेतनाको अभावका कारण सबै व्यक्ति सम्पर्कमा आउन सकेका छैनन् । हेमोफिलिया सोसाइटी नेपालमार्फत् अहिलेसम्म ६ सय ८० जना हिमोफिलिया भएका व्यक्तिहरुको पहिचान भएको छ । त्यसमध्ये पहिचान भएका व्यक्तिहरुमध्येबाट आवश्यक औषधोपचारको अभावमा वार्षिक करिब ३/४ जनाको ज्यान जाने गरेको सोसाइटीले जनाएको छ ।
कान्ति बाल अस्पतालका हेमाटोलोजिष्ट डा. सुधिर सापकोटाका अनुसार यसअघि हेमोफिलिया भएका बालबालिकालाई फ्याक्टर लगाउन बीर अस्पताल रेफर गर्नुपर्ने बाध्यता थियो ।
उहाँले भन्नुभयो,—‘यहि हप्ता (मंसिर दोस्रो साता) देखि हेमोफीलिया फ्याक्टरका लागि हेमोफीलीया सोसाइटीले डोनेसन गरेको छ । सरकारको पनि कार्यक्रम छ ।’
फ्याक्टर किन दिने ?
हेमोफिलिया भएका अधिकांश व्यक्तिहरुमा फ्याक्टर आठ र नौको कमी हुन्छ । यसको पूर्तिका लागि फ्याक्टर दिइन्छ ।
फ्याक्टरको कमीले जोर्नी र मांशपेशीहरुमा रगत जम्छ । कहिलेकाहिँ चोटपटक लागेमा टाउकोलगायत शरीरका कुनै पनि भागमा रगत जम्न सक्छ । थोरै चोटपटकले पनि लामो समयसम्म रगत बग्न सक्छ । यो समस्या रोकथाम तथा नियन्त्रणका लागि फ्याक्टर दिनुपर्छ । जसले गर्दा रगत बग्न रोकिन्छ ।