Logo
|
Friday 29th March 2024
Logo

epaper

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिसो बढेसँगै डडेल्धुरामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीहरुको सङ्ख्या बढ्दै गएको हो ।

पहिले दैनिक ३०/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा हाल दैनिक ७०/८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकीलगायत अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताउनुभयो ।

मङ्सिर पहिलो सातादेखि डडेल्धुरामा विस्तारै चिसो बढ्न थालेपछि मौसमी रूघाखोकी, निमोनिया, ज्वरो आउने तथा अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको सूचना अधिकारी पन्तको भनाइ छ ।

चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

चिसोको समयमा भाइरस सक्रिय भएर बालबालिका र वृद्धवृद्धालाई असर पार्ने भएकाले चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो, झोलिलो खानेकुरा खानुपर्ने अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर विष्टले बताउनुभयो ।

चिसोमा कोरोना भाइरस सक्रिय हुने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुका साथै रुघाखोकी लम्बिएमा वा स्वास्थ्यमा थप समस्या आएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्