स्वाव संकलन र परीक्षणमा भरपर्दो कुन ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेजोफेरेञ्जेल (नाक भित्र घुसाएर निकालिएको स्वाव ) परीक्षण गर्दा तुलनात्मक रुपमा बढी विश्वसनीय हुने विज्ञहरु बताउँछन । तर, नेपालमा भने ओरोफेरेञ्जेल (मुखभित्र घुसाएर निकालिएको स्वाव मा बढी जोड दिइएको छ ।
अमेरिकाको टेक्सासस्थित सोनिक रेफरेन्स ल्याबका क्लिनिकल मोलिक्युलर वायोलाजी विभागका निर्देशक डा. विजय ढकाल भन्नुहुन्छ—‘नेपालको सन्दर्भमा नेजोफेरेञ्जेलबाट निकालिएको स्वाव परीक्षण गर्नु नै उपयुक्त हुन्छ । घाँटीको स्वाव संकलनबाट संक्रमण पत्ता लगाउने सेन्सिटिभिटी (क्षमता) न्युन हुन्छ । नेजोफेरेञ्जेल स्वाव संकलन एकदमै अप्ठेरो भएपनि भरपर्दो र विश्वसनीय हुन्छ । सांसदहरुलाई लाइन लगाएर सिंहदरबारमा मुखबाट गरिएको ओरोफेरेन्जेल स्वाव (घाँटीको स्वाव) संकलन हो । ’
डा. ढकालको भनाइसँग अमेरिकाको टेक्सासस्थित सोनिक हेल्थ केयर क्लिनिकल प्याथोलोजी ल्याबोरेटरिज प्रयोगशालाका सुपरभाइजर द्रोण पाण्डेय पनि सहमत हुनुहुन्छ । पाण्डेयका अनुसार, ओरोफेरेञ्जेल (मुखभित्रको स्वाव ) भन्दा नेजोफेरेञ्जेल (नाक भित्रको स्वाव) संकलन गरी परीक्षण गर्दा रिपोर्ट बढी विश्वसनीय हुन्छ । यद्यपी कोरोना परीक्षणका लागि घाँटीको स्वावको सेन्सिटिभिटी तुलनात्मकरुपमा न्युन हुनेमा विज्ञहरु समहत छन् ।
कोरोना भाइरसले स्वासप्रश्वास प्रणालीमा असर गर्छ । स्वासप्रश्वास प्रणालीको केन्द्रबिन्दु नाक हुँदै फोक्सो हो । डा. ढकाल भन्नुहुन्छ— ‘स्वासप्रश्वासको तल्लो भाग अर्थात फोक्सो आसपासको भागबाट लिइने खकारमा सबैभन्दा बढी सेन्सिटिभिटि क्षमता हुन्छ । यो परीक्षण गर्दा अझ बढी भरपर्दो रिपोर्ट आउँछ । त्यसपछि नेजोफेरेञ्जल (नाक भित्रको ) स्वाव हो । नेजोफेरेञ्जेल स्वाव लिन नसकेको अवस्थामा ओरोफेरेञ्जेल स्वाव लिनुपर्छ ।’
कोरोना परीक्षणका लागि लोअर रेस्पिरेटरी ट्रयाकबाट निकालिएको स्वाब सबैभन्दा बढी उपयुक्त मानिने विज्ञहरुको भनाइ छ । चीनमा गरिएको एक अध्ययनले पनि नेजोफेरेञ्जल स्वाव ७३ दशमलव ३ प्रतिशत र ओरोफेरेञ्जेलबाट संकलन गरिएको स्वाब ६० प्रतिशत मात्र सेन्सिटिभिटी रहेको पाइएको छ ।
दुवै संकलन गरी परीक्षण गर्दा सेन्सिटिभिटी ८० प्रतिशत भन्दा माथि रहने सोनिक हेल्थ केयर क्लिनिकल प्याथोलोजी ल्याबोरेटोरिज प्रयोगशालाका सुपरभाइजर पाण्डेयले बताउनुभएको छ । कोरोना भाइरस संक्रमणको लक्षण देखिएको सातदिन भित्र परीक्षण गर्दा नतिजा बढी विश्वसनीय हुने विज्ञहरुको भनाइ छ । ८ देखि १४ दिन भन्दा ढीलो गरिएको ओरोफेरेञ्जेल स्वावबाट लिएको परीक्षणको सेन्सिटिभिटी घटेर ५० प्रतिशतमा झरेको अध्ययनहरुले देखाएका छन् ।
संक्रमण पुष्टि भएका सबै बिरामीमा नेजोफेरेञ्जेल गर्न नसकेको अवस्थामा मुखको स्वाब ओरोफेरेञ्जेल लिन सकिने भएपनि नेपालमा कोरोना संक्रमितको अवस्था जटिल नभएकाले नेजोफेरेञ्जेललाई नै जोड दिनुपर्ने विज्ञहरुको तर्क छ । ‘नेपालमा शुरुदेखिनै ओरोेफेरेञ्जेल (मुखभित्रको स्वाव) लाई प्राथमिकता दिइएको छ । यहाँबाट हामीले वेबिनार गरेर, रिसर्च आर्टिकल पठाएर नेजोफेरेञ्जेल (नाक भित्रको स्वाव) लाई प्राथमिकता दिन आग्रह गरेका हौं । सकभर नेजोफेरेञ्जेलको विकल्प नखोजौं ।’—उहाँले भन्नुभयो ।
नेपालमा संकलन भइरहेको स्वावको आकार पनि ठूलो भएको डा. ढकालले बताउनुभयो । ‘घाँटी हेरी हाड निल्नु भन्ने नेपाली उखान छ । नाकको प्वाल हेरेर त्यहिं साइजको साधन छिराएर स्वाव लिनुपर्छ । तर, स्वाव लिने वस्तुको आकार ठूलो छ । नाकभित्र पछाडिसम्म गएर नमूना लिनुपर्छ । नेजोफेरेञ्जेल स्वाव संकलन गर्ने वस्तु सानो हुन्छ ।’ उहाँले भन्नुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि नाकभित्र छिराएर लिइने नेजोफेरेञ्जेल स्वाव परीक्षण बढी प्रभावकारी हुने बताउनुहुन्छ । ‘कतिपय मुलुकले एउटै नेजोफेरेञ्जेल र ओरोफेरेञ्जेल दुवैबाट संकलन गरिएको स्वाव नै परीक्षण गर्दै आएका छन् । घाँटी भन्दा तुलनात्मकरुपमा नाकबाट स्वाव परीक्षण लिँदा त्यसको सेन्सिटिभिटी (क्षमता) बढी हुन्छ ।’ डा. पुनले भन्नुभयो ।