Logo
|
Thursday 25th April 2024
Logo

epaper

जाडोमा बाथले किन च्याप्छ ?



जनस्वास्थ्य सरोकार । नेपालमा बाथ रोगबाट पीडित हुनेहरूको संख्या बढ्दै गएको छ । बाथले कुनै एउटा अंगविशेष मात्र नभई शरीरका विभिन्न अंगहरुमा एकैपटक असर गर्न सक्छ । नङ, छाला, जोर्नीदेखि भित्री अंगहरू फोक्सो, नसा, रक्तनली लगायतलाई बाथ रोगले असर पुर्याउन सक्छ । अमेरिकन कलेज अफ र्युम्याटोलोजीका अनुसार, हरेक देशका करिब १० प्रतिशत व्यक्तिलाई बाथ रोगले सताउने गरेको छ । नेपालको भौगोलिक र आर्थिक परिवेश, रोग विशेषज्ञको कमी आदिका कारण बाथ रोगका अधिकांश व्यक्तिले राम्रो सुविधा पाउन सकेका छैनन् । विशेषगरी उचित परीक्षणको अभावले समयमै रोगको निदान र उपचारको सुविधा धेरै ठाउँमा उपलब्ध हुन सकेको छैन ।

बाथ रोग के हो ?
शरीरमा हुने धेरै सिस्टममध्ये इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) पनि एक हो । कहिलेकाहीँ आफ्नै शरीरका कोषहरुले प्रतिरक्षा प्रणाली विरुद्धमा आक्रमण गर्न सक्छन् । यसरी हुने रोगको समुहलाई स्वतः प्रतिरक्षा रोग (अटोइम्युन डिसअर्डर) भनिन्छ । बाथसम्बन्धि समस्या पनि यीनै रोगहरुको समुहभित्र पर्दछन् ।

बाथ रोगमा जोर्नी दुख्ने, सुन्निने र रातो हुने, चलाउन गाह्रो पर्न सक्छ । बाथरोगलाई अंग्रेजीमा र्युम्याटिक डिजिज भनिन्छ । कहिलेकाँही बाथले जोर्नीभन्दा बाहिर, छाला, आँखा मिर्गौला, मांशपेसी, रक्तनली, फोक्सो र मुुटुमा पनि असर गर्न सक्छ । बेलैमा उपचार नगरेमा जोर्नी र ढाडको आकार बिग्रन सक्दछ ।


जाडो मौसममा बाथरोगले च्याप्ने कारण के हो ?
जाडो मौसममा अधिकांश व्यक्ति शारीरिक व्यायाममा रुचि राख्दैनन् । शरीरिक अभ्यासमा कमी आउँदा हातखुट्टाका जोर्नीमा मुभमेन्ट कम हुन्छ र दुखाई बढ्दै जानसक्छ । शरीरमा पेन रिसेप्टर्स (दुखाई अनुभुती) सम्बन्धि नसा मस्तिष्कसम्म जोडिएका हुन्छन् । जाडो मौसममा पेन रिसेप्टर्सको क्षमता बढ्ने कारण बाथको दुःखाई पनि बढ्दै जान सक्छ । जाडो मौसममा फ्लुको संक्रमणले पनि बाथको दुःखाई अझ बढ्न सक्छ । कुनै पनि इन्फेक्सन भएमा नियन्त्रणमा रहेको बाथ रोग फेरि बल्झिन सक्छ ।

This image has an empty alt attribute; its file name is a-rheumatologist-checking-a-patients-hands-for-signs-for-inflammation-768x577.jpg


जाडो मौसममा सक्रिय हुने बाथ कुन कुन हुन् ?
प्रायः जाडो मौसममा गठिया बाथ (र्युम्याटिक आर्थराइटिस), जोर्नी खिइने बाथ (ओस्टियोआर्थराइटिस), लुपस र युरिक यसिड बाथले धेरै सताउने गर्छ ।
नेपालमा प्रायः कुन प्रकारका बाथ धेरै देखिने गरेका छन् ?
बाथ रोग दुई सय भन्दा धेरै प्रकारका पाइन्छ । ती मध्ये नेपालमा देखिने अधिकांश अस्टियो आर्थराइटिस (जोर्नी खिइने बाथ), र्युम्याटिक आर्थराइटिस (गठिया बाथ), युरिक एसिड (गाउट), स्पोन्ड्यालो आर्थराइटिस (ढाडको बाथ), , एस.एल.इ./लुपस/सिस्टेमिक लुपस/ इराइथेम्याटोसस्, भास्कुलाइटिस (रक्त नलीको बाथ ) रहेका छन् ।

This image has an empty alt attribute; its file name is rheumatology-care-768x410.jpg


गठिया बाथ के हो ?
गठिया बाथमा हात खुट्टाका जोर्नीहरुको आकार बिग्रदै जान्छ । यसले व्यक्ति कुँजो पनि हुनसक्छ । गठिया बाथले शरीरका अन्य भागहरुमा पनि असर गर्न सक्छ । सबै उमेरका मानिसलाई आक्रान्त पार्न सक्ने यस किसिमको बाथ पुरुषको तुलनामा महिलाहरुमा बढी पाइन्छ । यसको सुरुवाती लक्षण प्रायजसो हात, घुँडा र नाडीको जोर्नीहरुबाट शुरु हुन्छ । कहिलेकाहीँ मेरुदण्ड र घाँटीको जोर्नीमा पनि यसले असर गर्न सक्छ । रातको समयमा अलिक धेरै दुखाई हुने र बिहानको समयमा जोर्नीहरु कक्रक्क पर्ने लगायतका समस्या देखिन सक्छन् ।
युरिक एसिड बाथबारे बताइदिनुस् न ?
जोर्नीहरुमा युरिक एसिड जम्मा भएर देखिने समस्या युरिक एसिड बाथ हो । नेपाली समाजमा प्रायः देखिने यो बाथ महिलाको तुलनामा पुरुषमा धेरै देखिने गर्दछ । ९० प्रतिशत युरिक एसिड बाथमा सुरुवाती लक्षण खुट्टाको बूढी औँला सुन्निने गर्छ । युरिक एसिड शरीरका जुनसुकै भागमा पनि जमेर बस्न सक्ने र यसले जुनसुकै जोर्नीमा पनि असर गर्न सक्छ ।

युरिक एसिड बाथमा जोर्नी धेरै दुख्छ । यसमा केही खानपान र मध्यपानले जोर्नी बिगार्न सक्ने सम्भावना पनि हुन्छ । समयमै उपचार नगरेमा जोर्नीको आकारहरु बिग्रदै जान्छ ।

साथै दुखाइको गम्भीरता बढ्न गई मिर्गौलामा दीर्घकालीन समस्या देखा पर्न सक्छ । औषधि, खानपिनमा सन्तुलन तथा नियमित शारीरिक व्यायाम गरेमा युरिक एसिड रोकथाममा मद्धत पुग्छ ।
ढाडको बाथ के हो ?
यो बाथले प्रायः कम उमेरका पुरुषलाई बढी आक्रान्त पार्ने गरेको पाइएको छ । यस समुहका बाथले ढाड, जोर्नी लगायत आँखा, छाला,योनी, आन्द्रा, फोक्सोमा पनि असर गर्न सक्छ । ढाडको बाथ प्रायः छालाको कत्ले रोगसँग सम्बन्धित हुन्छ ।
कुन उमेरमा जोर्नी खिइने बाथ हुनसक्छ ?
प्रायः उमेर बढ्दै जाँदा यस प्रकारको बाथ देखिन थाल्छ । धेरैजसोमा ५०÷५५ वर्षको उमेरपछि देखिने गरेको छ । यस प्रकारको बाथ पुरुषको तुलनामा महिलाहरुमा धेरै देखिने गरेको छ । यसमा प्रायजसो घुँडा दुख्ने गर्छ । यसले मेरुदण्डमा पनि असर गर्न सक्छ । ५० वर्षभन्दा बढी उमेर, जोर्नीमा चोटपटक, मोटोपन, अत्यधिक कोलेस्ट्रोल भएका व्यक्तिहरु जोखिम वर्गमा पर्छन् ।
लुपस के हो ?
लुपस दीर्घकालीन रोग हो । यो गर्भवती र गर्भनिर्धारण योग्य महिलाहरुमा बढी देखिने गर्छ । यसले जोर्नी, छाला, आँखा, मांशपेशी, मिर्गौला,पेट, मस्तिष्क, रगत, मुटु, फोक्सोमा असर गर्न सक्छ । सुरुवाती चरणमा जोर्नी दुख्ने, अनुहारमा पुतली आकारको दाग देखिने, चायाँ र पोतो आउने, घाममा निस्किदा छाला रातो हुने, श्वासप्रश्वास बढ्ने, टाउको दुख्ने, शरीर गल्ने समस्या देखिनसक्छ । यसका लागि घामबाट जोगिने, व्यायाम गर्ने र चिकित्सकको सल्लाहमा दीर्घकालिन औषधिहरु सेवन गर्नुपर्छ ।

This image has an empty alt attribute; its file name is systemiclupuserythematosusm_1524318-768x593.jpg

बाथ रोगबाट कसरी बच्ने ?
चिसोबाट जोगिनुपर्दछ । न्यानो लुगा र पञ्जा लगाउनुपर्छ । जाडो मौसममा पनि शारीरिक अभ्यासलाई निरन्तरता दिनुपर्छ । नियमित मर्निङवाक जानुपर्छ । विशेषगरी फ्लुको संक्रमणबाट जोगिनुपर्छ । यसबाट जोगिन फ्लु विरुद्धको खोप लगाउन सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने कृयाकलाहरु गर्नुपर्दछ ।
खानपान कस्तो हुनुपर्छ ?
युरिक एसिड बाथका व्यक्तिले रातो मासु, रक्सी, कोक, फ्यान्टा, स्प्राइट जस्ता पेय पदार्थ, प्याकेटमा पाउने जुस, क्यानमा पाउने गुलियो पेय पदार्थ सेवन गर्न हुँदैन । साथै अण्डा लगायत प्रोटिनयुक्त खानेकुराहरु सेवनमा नियन्त्रण गर्नुपर्छ ।

दुग्धजन्य खाद्यान्न, ताजा फलफूल र तरकारी, भिटमिन सी र भिटामिन डी युक्त खानकुरा सेवनले युरिक एसिड वाथमा फाइदा गरेको पाइन्छ । अन्य बाथमा खानपानको भूमिका खासै छैन ।

तर सबै बाथका बिरामीहरुले धुमपान, मद्यपान र चिल्लो खानेकुराहरु सेवन गर्नुहुँदैन ।
(डा. शर्मा किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा लेक्चरर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्