Logo
|
Saturday 20th April 2024
Logo

epaper

१८ बर्षदेखि संघर्षशील फर्मासिष्ट



विवेक सिंह महत वरिष्ठ फर्मासिष्ट हुनुहुन्छ । उहाँले काठमाडौं विश्वविद्यालयबाट फार्मेसीमा मास्टर्स अध्ययन पूरा गरी १८ बर्षदेखि बिभिन्न फर्मास्युटिकल्स कम्पनिहरुको उत्पादन, रिसर्च एण्ड डेभलप्मेन्ट, बजार अध्ययन, अनुगमन तथा व्यवस्थापनमा क्रियाशील रहँदै आउनु भएको छ ।
महतले नेपाल सरकार अन्तर्गतको नेपाल औषधि लिमिटेड तथा सिंहदरबार बैद्यखानामा कन्सल्ट्यान्ट फर्मासिष्ट भएर समेत महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँको स्वदेशी औषधि कम्पनिहरुका साथै बंगलादेशको बेक्सीम्को फर्मास्युटिकल्स कम्पनिको मार्केटिङ प्रमुखको रुपमा काम गरेको लामो अनुभव छ ।
हाल उहाँ एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.मा प्रमुख बजार व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्छ ।
एभरेष्ट प्यारेन्टेरल्सको अवधारणा के हो ?
हालको अवस्थामा नेपाली औषधि बजारको अवलोकन गर्दा करिब ४५ प्रतिशत आफ्नै उत्पादनमा आत्मनिर्भर भएको देखिन्छ । २०६१/२०६२ सालमा औषधि व्यवस्था विभागद्धारा गरिएको अध्ययन प्रतिवदेनअनुसार नेपालमा करिब ६५ प्रतिशत आयात भएको थियो र हामी करिब ३५ प्रतिशत मात्र आत्मनिर्भर थियो । करिब १६ बर्षको अवधिमा औषधिमा आत्मनिर्भरतातर्फ आएको यो राम्रो आँकडा पक्कै होइन ।
आयातित औषधिहरुमा प्रमुख रुपमा रहेको इन्जेक्टबल आइटम आफ्नै देशमा उत्पादन शुरु भएमा देश आत्मनिर्भरतातर्फ उन्मुख हुने कुरालाई मनन् गदै एभरेष्ट प्यारेन्टेरल्सका अवधारणा विकास भएको हो ।
यसले अस्पतालमा आकस्मिक अवस्थामा प्रयोग हुने एम्पुल, भाइलमा आउने Small Volume Injectable तथा साधारणतया सलाइन भनिने, नर्मल सलाइन, डेक्सट्रोज, रिंगर र्याक्टेट आदि जस्ता लार्ज भोलुम प्यारेन्टेरल्स समेत देशको माग धान्न सक्ने गरी उत्पादन गर्ने लक्ष्य लिएको छ । प्यारेन्टेरेल्सको अर्थ, साधारणतया शरीरमा इन्जेक्सनमार्फत दिइने औषधि तथा जीवन रक्षक फ्लुड ( तरल पदार्थ) नै हो । सोही अनुसार हामीले नाम समेत एभरेष्ट प्यारेन्टेरल्स राखेका छौं ।
गुणस्तरको प्राथमिकताबारे स्पष्ट पारिदिनुस् न ?
संसारमा नै गुणस्तरको प्राथमिकतामा परेको तथा USP and BP को Specification अनुरुप मान्यता प्राप्त Sterilization विधिबाट १२१ डिग्री सेन्टिग्रेडमा १५ मिनेटसम्म निर्मलीकरण हुने र RCPP (Random co-polymer Polypropylere) को प्रयोग भएको बोटल भएकाले सलाईन लगायत Large volume parenterals को गुणस्तरमा हामी निर्धक्क छौं ।

साथै नेपालमा नै पहिलोपटक युरोपियन गुणस्तर बमोजिमको Non-PVC, DEHP free, Non leaching Safe bags को रुपमा युरोफ्लेक्स ब्यागमा समेत हामी औषधिहरु बजारमा ल्याउँदैछौं । यो संसारभरिकै नबिनतम प्रविधि हो । यसका अलावा आँखामा प्रयोग हुने आइड्रप्स, आई ओइन्मेन्ट पूर्णतया आयातमा निर्भर रहेको नाकमा प्रयोग हुने नेजल स्प्रे समेत चाँडै नै लिएर आउँदै छौं ।

कोभिड महामारीमा यहाँको भूमिका कस्तो रह्यो ?
मूलभूत रुपमा म भित्रको फर्मासिष्टले कोभिड महामारीको बेलामा केही गरौं भनेर घच्घच्याइ रह्यो । जसको फलस्वरुप विभिन्न फार्मेसी संघसंस्था तथा फार्मेसी काउन्सिलको संलग्नतामा सामुदायिक फार्मेसी तथा अस्पताल फार्मेसीका लागि उपयुक्त ‘कोभिड—१९ फर्मासिष्ट तथा फार्मेसी सहायकका लागि निर्देशिका’ नामक पुस्तक प्रकाशित गरियो । साथै नेपाल मुद्रण उद्योग महासंघको अनुरोधमा ‘कोभिड—१९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी’ नामक पुस्तकसमेत लेख्न सफल भइयो । सबैभन्दा ठूलो उपलब्धी चाँही मुलुकमा पहिलोटक भिटिएमको अनुसन्धान, उत्पादन तथा बिक्री वितरणलाई नै मान्नुपर्ला ।

प्रतिक्रिया दिनुहोस्