Logo
|
Friday 19th April 2024
Logo

epaper

एकपटक कोरोना संक्रमण भएपछि ‘पाँच महिना सुरक्षित’



जनस्वास्थ्य सरोकार । एक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ ।

कहिल्यै कोरोना सङ्क्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पब्लिक हेल्थ इङ्गल्यान्डले गरेको एक अध्ययनमा खुलेको छ ।

तर विज्ञहरूले कोरोनाभाइरसको सङ्क्रमण दोहर्‍याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना रहेको बताएका छन्।

नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो -‘यसको अर्थ उनीहरुलाई दोहर्‍याएर संक्रमण हुनै नसक्ने भन्न खोजिएको होइन । त्यसकारण सुरक्षाका उपायहरू अपनाउनु पर्छ ।’

उहाँले पुनः सङ्क्रमित भएका केहीमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको बताउनुभयो ।

सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१,००० स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित छ।

तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३१८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६,६१४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो।

वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन्।

उनीहरूले भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्नेछन्।

लेस्टर विश्वविद्यालयकी भाइरस विज्ञ डा. जुलियन टाङ्ले यो नतिजा स्वास्थ्यकर्मीहरूका लागि सकारात्मक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो -‘कोरोनाभाइरस सङ्क्रमण भइसकेका व्यक्तिले खोप लिन हुन्छ र यसले प्राकृतिक रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्