Logo
|
Saturday 20th April 2024
Logo

epaper

थारु समुदायमा सिकलसेल रोकिएन, सबै नागरिकको हेमोग्लोबिन डिस्अर्डर अनुमान गर्न सुझाव



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले थारु समुदायमा सिकलसेल रोग हुने क्रम नरोकिएको भन्दै देशभरका नागरिकमा हेमोग्लोबिन डिस्अर्डर अनुमान गर्न केन्द्रित हुनुपर्ने सुझाव दिएको छ ।


सिकल सेल डिस्अर्डर/रोगको रोकथाम गर्न अभियान सञ्चालन गर्नुपर्ने र सिकल सेल ट्रेट÷सिकल सेल रोगको जोखिममा रहेका विशेष उमेर समूहहरुलाई परामर्श प्रदान गर्न आनुवंशिक परामर्श निर्देशिका बनाउने तथा आनुवंशिक परीक्षण र गर्भपूर्व सेवा प्रदान गर्न सुझाव दिएको छ । नेपालको सन्दर्भमा सिकल सेल रक्तअल्पता पश्चिम तराईको थारु जतिमा देखिएको छ ।


बर्दिया जिल्लाका बीस हजार थारु समुदायमा २०७४ साउन देखि २०७६ पौष सम्मसिकल सेल रोगको जनसख्यामा आधारित अध्ययन गरिएको थियो । अध्ययनबाट २० हजार मध्ये २ हजार २५६ जनालाई सिकल सेल डिस्अर्डर भएको पत्ता लागेको हो । जसमध्ये दुइ हजार एक सय ११ जनामा सिकल सेल ट्रेट थियो भने एक सय ४५ जनामा सिकल सेल रोग थियो ।


सिकलसेल डिस्अर्ड भएका दुइ हजार दुई सय ५६ जनामध्ये सिकलविद् बीटा थालेसीमिया दुई सय ३२ जना अर्थात १० दशमलब २ प्रतिशत, सिकलविद् डी पंजाब ६ जनालाई र सिकलविद् सजेस्टिभ डी इरान ६ जनालाई थियो ।


अध्ययनमा सहभागी सात हजार नौ सय ८२ पुरुषमध्ये सिकल सेल ट्रेट आठ सय ७४ जनामा थियो भने ७५ जनामा सिकल सेल रोग थियो । यस्तै, १२ हजार १८ महिलामध्ये १ हजार दुइ सय ३७ जनालाई सिकल सेल ट्रेट थियो भने ७० जनालाई सिकल सेल रोग पाइएको थियो ।


अध्ययनमा सहभागी एघार हजार नौ सय दुई जनामा देसौरी थारु उपसमूहमध्ये एक हजार दुइ सय ८४ जनालाई सिकल सेल ट्रेट थियो भने ८२ जनालाई सिकल सेल रोग पाइएको थियो । यस्तै, सात हजार नौ सय ४३ दंगौरी थारु मध्ये आठ सय एक जनामा सिकल सेल ट्रेट र ६१ जनामा सिकल सेल रोग थियो ।


सिकल सेल डिस्अर्डरलाई सिकल सेल रक्तअल्पता वा सिकल सेल रोग पनि भनिन्छ । यो रोग रगतमा हुने तत्व हेमोग्लोवीनको गडबडीका कारण हुने साधारण आनुवंशिक अवस्था हो । यो रोग भएका व्यक्तिमा असाधारण प्रकृतिको हेमोग्लोविन आणुहरु हुन्छन् । जसले सामान्य रातो रक्त कोषलाई हसिया वा अर्ध चन्द्र आकारको स्वरुपमा परिवर्तन गर्दछ । सिकल सेल ट्रेट भनेको यस्तो अवस्था हो, जसमा व्यक्तिले आफ्नो आमा वा बुबा मध्ये कुनै एकबाट सिकल सेल जीन वंशानुगत रुपमा आएको हुन्छ साथै प्रायः सिकल सेल रोगको कुनै लक्षण देखाउँदैन ।

प्रतिक्रिया दिनुहोस्