Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा कहिले आउँछ ‘कोभिसिल्ड’ खोप र कति मूल्यमा लगाउन पाइएला ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस संक्रमण विरुद्ध खोप ल्याउन सरकारले कुटनितिक र प्राविधिक प्रयासलाई जारी राखेको छ । खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको सरकारको दावी छ । औषधि व्यवस्था विभागले गत शुक्रवार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।


‘कोभिसिल्ड’ सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले उत्पादन गरेको खोप हो । यो संगै नेपालमा रहेको आधिकारीक आयातकर्ता हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले ‘कोभिसिल्ड’ नामक खोप ल्याउने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताउनुभयो । यो खोपलाई विशेष प्रकारको अनुमति प्रदान गरीएको छ ।


औषधि ऐनमा यो व्यवस्था नभएपनि औषधि अध्यादेश मार्फत् आपतकालीन प्रयोगका लागि खोपको अनुमति दिइएको औषधि व्यवस्था विभाग बताउँछ । छिटो भन्दा छिटो भ्याक्सिन ल्याउन विभागले आधिकारीक आयातकर्तालाई आग्रह गरेको छ ।


कुनैपनि औषधि या खोप विकास क्रममा रहेको अवस्थामा नियामक निकायले जोखिम कम छ र प्रभावकारी बढि छ भनेको अवस्थामा त्यस्ता औषधि वा खोपलाई लक्षित वर्गमा प्रयोगका लागि अनुमति दिने अवस्था आपतकालीन प्रयोग हो । त्यसका लागि ती खोपहरु क्लिनिकल अध्ययनमा रहेका हुनुपर्छ । क्लिनीकल अध्ययनपनि संगसंगै भइरहेको अवस्थामा मास प्रयोगका लागी आपतकालीन प्रयोग गर्न सकिने वरिष्ठ औषधि व्यवस्थापक केसीले बताउनुभयो ।


उहाँले भन्नुभयो- ‘आधिकारीक आयातकर्ताले सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप भित्र्याउन सक्छ । भारतमा यसको मूल्य करीव करीव दुइ सय ९४ पर्छ । मूल्यको हिसाबमा यो खोप सुलभ छ र मूल्यको हकमा नेपाल सरकारले तोक्ने छ ।’ प्रारम्भीक नतिजाले यो खोप प्रभावकारी छ भन्ने देखाएको यो खोप ६२ प्रतिशतको हाराहारीमा प्रभावकारी छ भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।


नेपालमा कोरोना भाइरसविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको हो । विभागले कोभिड १९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालिन प्रयोग सम्बन्धि संहिता, २०७७ र कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणपत्रलाई आधार मानेको छ । विभागले गत बुधबार कोभिड १९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा सोका आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो ।


कोभिड–१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकाका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्