Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा पनि, कत्तिको जोखिम छ त ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतबाट फर्किएका मध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो । ती तीनै जनाको स्वाव विश्व स्वास्थ्य संगठनको सहयोगमा पुस २७ गते हङकङ पठाइएको थियो ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि.१.१.७ वा २० बिर ५०१ वाइ.भि वान भएको बताउनुभयो । ती तीनै जना एक महीना अघि बेलायत हुँदै नेपाल फर्किएका थिए ।


स्वास्थ्य मन्त्रालयका अनुसार बेलायतबाट पुस १ गतेपछि नेपाल आएका २७७ जना मध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा एस जीन टार्गेट नेगेटिभ थियो । उनीहरुमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै गत पुस २७ गते उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएको थियो ।


६ जनाको नमूना हङकङमा परीक्षा गर्दा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा.गौतमले बताउनुभयो । मन्त्रालयले नेपालमा कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको छ ।


सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उहाँले भन्नुभयो, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उहाँले भन्नुभयो, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्