कोभिडको डरले तीन महिनादेखि एयरपोर्टमै लुकेर बसे ‘आदित्य’
जनस्वास्थ्य सरोकार । कोरोना महामारीका कारण विमान चढ्न डराएका एक पुरुष तीन महिनासम्म शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षित भागमा लुकेर बसिरहेको पाइएको छ । छत्तीस वर्षीय आदित्य सिंहलाई शनिवार विमानस्थलका अधिकारीहरूले पक्राउ गरेको हो ।
विमानस्थलका अधिकारीहरुले उनीसँग पहिचानपत्र माग्दा सिंहले विमानस्थलका एक व्यवस्थापकको ब्याज देखाए । तर, त्यो ब्याज गत अक्टोबर महिनादेखि हराइरहेको थियो ।
सिंह लस एन्जलसबाट शिकागोको ओहेर अन्तर्राष्ट्रिय विमानस्थलमा १९ अक्टोबरमा आइपुगेको प्रहरीले जनाएको छ ।
उनले विमानस्थलमा सो ब्याज भेट्टाएको र कोभिडका कारण घर जान डर लागेकाले त्यहीँ बसिरहेको राज्यका सहायक अभियोजनकर्ता केथीलिन हेगर्टीलाई उद्धृत गर्दै शिकागो ट्रिब्यूनले लेखेको छ।
ती व्यक्ति अन्य यात्रुहरूले दिएका खानेकुरामा निर्भर रहेको पाइएको छ ।
सिंह लस एन्जलसको बाहिरी भागमा बसोबास गर्छन् । उनको कुनै आपराधिक पृष्ठभूमि नरहेको अर्का अभियोजनकर्ता कोर्टनी स्मलवुडले बताइन्।
उनीविरुद्ध विमानस्थलको प्रतिबन्धित क्षेत्रमा अनधिकृत आपराधिक प्रवेश गरेको अनि चोरी गरेको अभियोग लगाइएका छन्। एक हजार डलर जमानत तिरेर रिहा भएपछि पनि उनलाई त्यसपछि उक्त विमानस्थलमा प्रवेश दिइनेछैन। अदालतसामु प्रस्तुत गरिएका तथ्य र बयान निकै स्तब्ध पार्ने खालका छन्,न्यायाधीश ओर्टिजले भनिन्।
विमानस्थलहरू भनेको अत्यन्त सुरक्षित हुनुपर्छ ताकि मानिसहरू विना कुनै चिन्ता यात्रा गर्न सकून्। तर यी आरोपित कार्यहरूले उनी समुदायको निम्ति खतरनाक देखिन्छन्। बीबीसी