Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतले नेपाललाई निःशुल्क उपलब्ध गराउने कोभिड—१९ खोपबारे आज औपचारिक घोषणा गरिँदै




जनस्वास्थ्य सरोकार, काठमाडौं । भारत सरकारले नेपाललाई अनुदानस्वरुप प्रदान गरिने निःशुल्क कोभिड १९ विरुद्धको खोपबारे आज (बुधबार) औपचारिक घोषणा गरिँदै छ ।
भारतले दिन लागेको खोप बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी एवं भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।


सम्मेलनमा कोभिड १९ विरुद्धको खोप भारत सरकारले कति संख्यामा उपलब्ध गराउने र कहिलेसम्म नेपाल आउने भन्नेबारे विस्तृत जानकारी दिइने छ ।
भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले उपहार स्वरुप नेपाललाई दिन लागेको हो ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाललगायत छिमेकी देशहरु बंगालादेश, भूटान, माल्दिभ्स, म्यानमार, सेसेल्सलाई बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागिएको उल्लेख छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा बेलायती औषधि निर्माता कम्पनिले संयुक्त रुपमा विकास गरेको ’एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’ को नाममा उत्पादन गरेको हो ।


नेपालले फ्रन्टलाइनरसहित कम्तिमा ७० वर्ष माथिका १२ लाख जनसंख्यालाई पुग्ने गरेर खोप दिन आग्रह गरेको थियो ।


खोप प्राप्त भएको एक साता भित्र अग्रपंक्तिमा काम गर्ने समूहलाई खोप लगाउनका लागि सम्पूर्ण रुपमा मन्त्रालयले तयारी गरेको जानकारी दिएका थिए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले खोप लगाएपश्चात् साइड इफेक्ट देखिए सरकारले उपचार गरिदिने बताउनुभयो । उहाँले भन्नुभयो-‘ सरकारले खोप लगाएपश्चात् साइड इफेक्ट देखिए उपचार गर्ने व्यवस्था मिलाएको छ ।

औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिशील्ड’लाई आपत्कालिन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारको योजना छ ।

नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसंख्या रहेको र उनीहरूलाई खोप लगाइनेछैन । सरकारले खोप ल्याउन ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोनाविरुद्धको खोप भण्डारणका लागि सरकारले सबै तयारी पूरा भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्