Logo
|
Thursday 9th May 2024
Logo

epaper

कोरोनाविरुद्ध खोप र यसको प्रभावकारिता बारे…..



डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ


जनस्वास्थ्य सरोकार । अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारको रुपमा नेपाल आएको छ । भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको थियो । नर्बेमा २३ जना जेष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो ।
नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ । यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्रायल गरिएको थियो ।
भारतमा तेस्रो चरणको क्लिनिकल ट्रायल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो । भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ । कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् ।
नेपालमा आएको कोभिशिल्ड खोप तीन हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ । दोस्रो मात्रा लगाएको एक हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ । तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ । जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ ।
यो खोपको भारतमा ०.१५ प्रतिशतलाई साइड इफेक्ट देखिएको जनाइएको छ । खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ । यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् । सामान्य साइड इफेक्टको रुपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने र गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहनसक्छ ।
कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा बिगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले बिशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ ।


गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन । तसर्थ नलगाउनु सुरक्षित हुन्छ । दीर्घरोगहरु जस्तै क्यान्सर, मुटु र किड्नी र फोक्सो र मस्तिष्क र ब्लीडिंग डिस्अर्डर र प्लेटलेट सम्बन्धि समस्या र स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभति भएपछि वा बिशेषज्ञको निगरानीमा केहि समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ ।


नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ ।
कोभ्याक्स सुबिधा अन्तर्गत २० प्रतीशत जनसंख्यालाई पुग्नेगरि खोप आउँछ । उक्त खोप २ महिनापछि ३ प्रतीशत जनसंख्याको लागि आउँछ । बाँकी १७ प्रतीशतको लागि उपलब्धता अनुसार बिस्तारै आउँछ ।
अन्य खोप सरकारले तथा निजि क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ । खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, जेष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ । २०२२ सम्म सबै नागरिकको खोपमा पहुँच हुनसक्छ । महामारीको नियन्त्रण हुने बेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्