Logo
|
Friday 26th April 2024
Logo

epaper

खोप कार्डले झस्कायो, भवितव्य भए के गर्ने ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । भोली बुधबार विहान १० बजे खोप अभियान सुरु गरिदैंछ । भारत सरकारले उपहारस्वरुप उपलब्ध गराएको १० लाख डोज मात्रा १८ गते भित्र लगाइसक्ने सरकारको योजना छ । सोहि अनुरुप जिल्ला जिल्लामा खोप पुगिसकेको छ ।


सरकारले जोखिमका आधारमा खोप लगाउनेहरुको प्राथमिकता निर्धारण गरेको छ । पहिलो प्राथमिकतामा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोभिसिल्ड खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट एकैसाथ कोरोना भाइरस विरुद्धको खोप अभियान संचालन हुँदैछ ।


पहिलो चरणको खोप अभियानमा संघ, प्रदेश र स्थानीय तहको स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ को नियन्त्रण तथा जोखिम न्यूनीकरणमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीहरुलाई प्राथमिकतामा राखिएको छ ।
चार लाख ३० हजार जनालाई खोप लगाइने छ । खोप लगाउने दिन नजिकीदैं गर्दा अहिलेसम्मपनि स्वास्थ्यकर्मीमा उत्साह देखिएको छैन । सरकारले तयार पारेको खोप कार्डमा भनिएको छ,‘नेपाल सरकारबाट कोभिड १९ विरुद्धमा उपलब्ध भएको खोप मैले मेरो राजी खुशी साथ लिएको छु र पछि कुनै भवितव्य परी केहि भएमा कोहि कसैलाई दोषि नदिई म स्वयम् जिम्मेवार हुनेछु ।’


यो वाक्यले आम नागरीक झस्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले खोप लगाएकै कारण समस्या देखिए उपचार सरकारले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो-‘केहि समस्या देखिए उपचार गर्ने हो । उपचार सरकारले गरिदिन्छ ।’


खोप ऐन २०७२ मा उपचार तथा क्षेतीपूर्ति सम्वन्धि व्यवस्था गरीएको छ । उपचार तथा क्षेतीपूर्ति व्यवस्थामा कुनै खोप लगाएकै कारण खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भिर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो सो निकाय वा संस्थाले त्यसतो व्यक्तिको उपचार गरी क्षेतिपूर्ति समेत दिनुपर्नेछ भनि उल्लेख गरीएको छ ।


कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अंगभंग भइ गम्भिर प्रकारको शारिरीक क्षेति पुगेको वा निजको मृत्यु भएको कुरा अनुसन्धान समितीले ठहर गरेमा अंगभंग भएको वा निज स्वयमलाई र मृत्यु भएको हकमा निजको नजिकको हकवालालाई त्यसतो खोप दिइने निकाय वा संस्थाबाट क्षेतीपूर्ति उपलब्ध गराइनुपर्ने उल्लेख छ ।


स्वास्थ्य मन्त्रालयद्धारा गठित कोभिड–१९ खोप सल्लाहकार समितीका संयोजक डा.श्यामराज उप्रेतीले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरुको व्यक्तिगत विवरण वा सबै घटनाहरुको रीपोर्ट तयार हुने वताए । उनले भने, कोरोनाविरुद्धको खोप लगाइसकेपछि सबै घटनाहरुको रीपोर्ट तयार गर्नुपर्छ । तर, अरु खोप कार्यक्रमहरुमा रीपोर्ट तयार गरीदैंन । भ्याक्सिन लगाउँदा केहि जोखिम देखिए जाँचबुझ हुन्छ । ’

प्रतिक्रिया दिनुहोस्