Logo
|
Thursday 18th April 2024
Logo

epaper

नेपालमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु, पहिलो दिन १२ हजार बढीलाई खोप लगाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप शुभारम्भ गर्नु भएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट भर्च्युअल माध्यमबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।


आज सात वटै प्रदेशका ६२ वटा अस्पताल र ३०० भन्दा बढी खोप केन्द्रबाट एकैपटक खोप अभियान सुरु भएको छ ।

कोरोनाभाइरस नियन्त्रण र रोकथाममा अग्रपङ्क्तिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी लगायतलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालले सोचेभन्दा छिटो खोप अभियान शुभारम्भ भएको बताउनुभयो । उहाँले भन्नुभयो -‘अभियान शुभारम्भ भएको १० दिन भित्र पहिलो चरणको खोप लगाई सकिने छ ।’ आज पहिलो दिन १२ हजार बढीले खोप लगाउने स्वास्थ्य मन्त्री त्रिपाठीको भनाइ छ ।

भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज कोभिसिल्ड खोपबाट अभियान शुरु गरिएको हो । नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको यो खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले विकास गरेको अनि भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको हो। यो ७० प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्