Logo
|
Wednesday 8th May 2024
Logo

epaper

किन गर्भवतीले कोभिड-१९ विरुद्धको खोप लगाउन हुँदैन ? यस्ता छन् कारण



जनस्वास्थ्य सरोकार । ‘गर्भवती महिलाका हिसाबले मेरो सबैभन्दा ठुलो चासो भनेको सुरक्षा हो,’ इरिन म्याथ्युले भनिन्।

कोरोनाभाइरसको खोप लगाउने कि नलगाउने भन्ने निर्णय गर्नुपर्ने बेलामा उनको गर्भधारणको दोस्रो त्रैमासिक थियो। अमेरिकाको भर्जिनियास्थित एउटा सहरमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत भएकाले उनी खोप लगाउन योग्य थिइन्। तर डा. म्याथ्युको मनमा थुप्रै प्रश्नहरू थिए।

‘एकातिर प्राथमिक सेवाको चिकित्सक भएकाले कोभिड-१९ सङ्क्रमणको उच्च जोखिममा थिएँ,’ उनले भनिन्। ‘अर्कोतर्फ गर्भवती महिलालाई खोप लगाउँदा कति सुरक्षित छ भन्ने तथ्याङ्क हामीसँग छैन।’

गर्भवती महिला र खोप

विश्व स्वास्थ्य सङ्गठनले फाइजर-बायोएनटेक र मोर्डनाले विकास गरेका खोपहरू लगाउनेबारे सुझावहरू प्रकाशित गरेको छ। त्यसमा अहिलेका लागि गर्भवती महिलालाई खोप लगाउन सुझाइएको छैन। नसुझाइएको खोपले हानि पुर्‍याएका प्रमाण भएर होइन कि त्यसबारे तथ्याङ्कको कमीका कारणले हो।

तर गर्भवती महिलाहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च खतराबाट जोगिनै नसक्ने अवस्थामा छन्। त्यस्तो बेला स्वास्थ्य सेवा प्रदायकसँग खोपबारे छलफल गर्न सकिने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

सङ्गठनले गर्भवती भएका बेला कोभिड-१९ को खतराबारे पनि उल्लेख गरेको छ। गर्भवती नभएका महिलाहरूभन्दा गर्भवती महिलाहरू कोभिड-१९ को उच्च जोखिममा छन्, समय नपुग्दै बच्चा जन्मने खतरा पनि कोभिड-१९ सँग सम्बन्धित छ,’ सङ्गठनको निर्देशिकामा भनिएको छ।

डा. म्याथ्युले पनि आफ्ना चिकित्सक र गर्भवती रहेका अन्य सहकर्मीहरूसँग यसबारे छलफल गरिन्। “खोप लगाउँदा हुनसक्ने अज्ञात जोखिम र खोप नलगाउँदा कोभिड-१९ ले मेरो गर्भलाई पार्ने जोखिम विचार गर्दा के गर्ने भन्ने निर्णय मेरा लागि स्पष्ट थियो,” म्याथ्युले भनिन्।

उनले ज्यानुअरीमा खोपको पहिलो मात्रा लिइन् र अर्को मात्रा फेब्रुअरीमा लिने छिन्। अन्य महिलाहरूले भने फरक निर्णय लिइरहेका छन्। अमेरिकाको दक्षिण पश्चिममा रहेको ओहायोकी जोआना सुलिभानको बच्चा आउँदो जुनमा जन्मिनेछ। बच्चा नजन्मिँदासम्म खोप नलगाउने योजनामा उनी छिन्।

तथ्याङ्कले के भन्छ?

अहिलेसम्म खासै तथ्याङ्क छैन। “प्रयोगका लागि अनुमति दिइएका खोपहरूको परीक्षण गर्भवती महिलामाथि गर्न अझै बाँकी छ, तर पनि त्यसको प्रभावकारिता उच्च रहने र सुरक्षित हुने विवरणहरू छन्,” जोन्स हप्किन्स बर्मन इन्स्टिच्युट अफ बायोएथिक्स विषयमा प्राध्यापक गर्ने कार्ली रूबिनरले भनिन्।

खोपले गर्भवती र स्तनपान गराउने महिलालाई खतरा हुन्छ भन्ने कुनै प्रमाण छैन। के मात्रै हो भने त्यसबारे अहिलेसम्म अध्ययनहरू भएका छैनन्। फाइजरले गर्भवती र स्तनपान गराउने महिलालाई खोपको परीक्षणमा सामेल गरेको थिएन।

गर्भवती महिलालाई किन समावेश गरिएन?

विज्ञहरू यसलाई सामान्य मान्छन्। “महामारी नभएको समयमा, यदि हामीले नयाँ कुनै खोपको प्रारम्भिक परीक्षणहरूमा गर्भवती महिलालाई समावेश गर्ने कुरा गरेको भए सबैले समावेश गर्न हुँदैन भन्थे”, जोन्स हप्किन्सकै अर्का बायोएथिशिष्ट डा. रुथ फाडेनले भने।

बायोएथिक्समा गर्भवती महिलालाई “जटिल जनसङ्ख्या” अन्तर्गत राखिने डाक्टर फाडेनले बताए। “इबोलाका बेला कङ्गोमा खोप कार्यक्रम थालिएपछि सुरुमा गर्भवती र स्तनपान गराउने महिलालाई खोप दिइएको थिएन,” कार्लिले भनिन्।

पछि स्तनपान गराउने महिलाहरूले खोप लगाउनका लागि अनावश्यक र सम्भावित हानी पुर्‍याउने जोखिम मोलेर खोप कार्यक्रम भएका ठाउँमा पुगे। उनी भन्छिन्, “अहिले तथ्यहरूको अभावका बेला धेरैले फाइदा धेरै हुने र सुरक्षित खोप लगाउन अघि नसरेका हुन्।”

यसबारे कस्तो उपाय?

गर्भवती भएका बेला खोप लगाउने कि नलगाउने भनेर फरक देशले फरक तरिका अपनाइरहेका छन्।

“उपलब्ध तथ्यहरूले गर्भवती महिलामा सुरक्षासम्बन्धी चासो वा त्यसको हानिबारे केही सङ्केत नगरे पनि त्यस्तो बेला कोभिड-१९ को खोपको नियमित प्रयोग सुझाउन पर्याप्त प्रमाण छैन,” रोयल कलेज अफ अब्स्ट्रेटिसियन एन्ड गाइनोकोलोजिष्ट आरसीओजीले भनेको छ।

स्तनपान गराउने महिलाले प्रयोग गर्न हुने वा नहुने भन्ने बारे आरसीओजीले “कुनै खतरा थाहा नभएको” र पर्याप्त तथ्यहरू थाहा नभएकोबारे महिलालाई भन्नुपर्ने जनाएको छ।

अन्य देशहरू जस्तै इजरेलमा भने उच्च जोखिममा रहेका गर्भवती महिलालाई खोप दिने सूचीको प्राथमिकतामा राखिएको छ। तर भारतमा भने गर्भवती र स्तनपान गराउने महिलालाई थप अध्ययन नगरिँदासम्म खोप नदिइएको बताइएको छ।

तथ्याङ्क कहिले आउँछ?

हार्वर्ड मेडिकल स्कुलकी प्रशिक्षक तथा बेथ इजरेल डिकोनेस मेडिकल सेन्टरकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हुमा फरिदले गर्भवती महिला समावेश गरिएको परीक्षणको नतिजा आउन “महिनौँदेखि वर्षौँ लाग्न सक्ने” बताइन्।

केही महिला भने परीक्षणमै रहेका बेला गर्भवती भएका छन्। उनीहरूलाई नियमित निगरानीमा राखिनेछ। यद्यपि कोरोनाभाइरसले कसरी गर्भवती महिलालाई असर गर्न सक्छ भन्नेबारेका प्रारम्भिक विवरणले मिश्रित अवस्था देखाउँछ।

अमेरिकामा गर्भवती भएका बेला कोरोनाभाइरस लागे धेरै असर गरेको विवरण छ भने युकेमा त्यति धेरै असर नरहेको विवरण छ। धेरै गर्भवती महिलाले भने मध्यम खालका लक्षणहरू देखिएको अनुभव गरेका छन्।

गर्भवती महिलालाई खोप कति सुरक्षित?

धेरै स्वास्थ्यकर्मीलाई सङ्क्रमण भए गम्भीर हुन्छ भन्ने कुरा बढी चिन्ताजनक छ। “हाम्रा गर्भवती बिरामीहरूलाई जोखिम बढी छ भन्न हामीलाई थाहा छ र हामीलाई यो पनि थाहा छ कि खोप सामान्यतया सुरक्षित छ,” डा. हुमा फरिदले भनिन्।

“प्रत्येक बिरामीका लागि यो व्यक्तिगत निर्णय हो, तर भाइरस र खोप अनि त्यसका फाइदा र बेफाइदासम्बन्धी उनीहरूका चासोबारे छलफल गर्न म कोसिस गर्छु,” उनले भनिन्।

प्रत्येक गर्भवती महिलालाई परिणाम जे भए पनि यसबारे आफ्ना चिकित्सकहरूसँग छलफल गर्न र सङ्क्रमणबाट जोगिने उपायहरू अपनाउन उनी सुझाउँछिन्।

के गर्ने भन्ने निर्णय लिनका लागि गर्भवती महिलामा पहिला नै कुनै स्वास्थ्य समस्या छ कि छैन भन्ने कुराको भूमिका रहने कार्ली रुबिनर बताउँछिन्।

डाक्टर फरिद जस्तै उनी पनि कम्तीमा तीन वटा पक्ष हेर्न सुझाउँछिन्: सङ्क्रमणको जोखिम, गम्भीर रोगको जोखिम र खोपको फाइदा।

स्तनपान गराउने आमाहरूलाई असर पर्छ?

बालकलाई स्तनपान गराउँदै एक आमा

विज्ञहरूबीच स्तनपान गराउने महिलाले खोप लगाउन हुन्छ कि हुन्न भन्नेबारे एउटा सहमति छ। खोप पाउन योग्य छन् भने स्तनपान गराउने महिलाहरूले खोप लगाउनु नपर्ने कुनै कारण नभएको उनीहरू बताउँछन्।

“म त स्तनपान गराउने महिलाहरूलाई खोप लगाउन सुझाइरहेकी छु किनभने उनीहरूको शरीरले उत्पादन गर्ने एन्टीबडी स्तनपानको माध्यमबाट शिशुको शरीरमा जाने र सार्स-कोरोनाभाइरस-२ विरुद्ध लड्न सक्छ,” डा. हुमा फरिदले भनिन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्तनपान गराउने महिला वा उनीहरूका शिशु कोभिड-१९ को गम्भीर खतरामा रहेको भन्ने कुनै प्रमाण अहिलेसम्म छैन।

खोपले प्रजनन क्षमतामा असर पार्छ?

प्रारम्भिक प्रमाणलाई हेर्दा गर्भधारण गर्न कोसिस गरिरहेका महिलाहरूले खोप लगाएपछि त्यसबारे फरक धारणा राख्न आवश्यक नरहेको बताएका छन्।

“कोभिड-१९ को खोपले प्रजनन क्षमतामा असर गर्छ भन्ने कुनै प्रमाण छैन,” कार्ली रुबिनरले भनिन्। “अहिले स्वीकृति दिइएका खोपहरूको परीक्षणका बेला गर्भवती महिलाहरूलाई समावेश नगरिए पनि परीक्षणका क्रममा थुप्रै महिला गर्भवती भएका छन् – प्रजनन क्षमता भएका महिलाहरूलाई पनि परीक्षणमा राखिएकोले यो कुनै असामान्य कुरा पनि होइन।”

“भविष्यमा गर्भधारणका लागि खोपले कुनै खतरा नहुने भनेर महिलालाई आश्वस्त पार्नुपर्छ।” समयसँगै यसबारे थप स्पष्टता हुँदै जाने आशा विज्ञहरूले गरेका छन्। बिबिसी

प्रतिक्रिया दिनुहोस्