तीन साताभित्र २२ लाख ५६ हजार डोज खोप नेपाल आउने
जनस्वास्थ्य सरोकार,काठमाडौं । नेपालले कोभ्याक्स अन्तर्गत् २२ लाख ५६ हजार डोज पाउने भएको छ । विश्व स्वास्थ्य संगठनले कोभ्याक्सअन्तर्गतको २२ लाख ५६ हजार डोज कोभिड—१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । यो खोप आए नेपालको कुल जनसंख्याको ३ दशमलव ३ प्रतिशतलाई पुग्नेछ ।
विश्व स्वास्थ्य संगठनले बिहीबार प्रकाशित गरेको अन्तरिम कोभ्याक्स डिस्ट्रिब्युसन फोरकास्ट चार्टकाअनुसार गरिब मुलुक भएकाले नेपालले त्यति संख्यामा खोप पाउने तालिका सार्वजनिक गरेको हो ।
नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ ।
नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणमा खरिद गरेर ल्याइने कोभिड विरुद्धको खोप अबको तीन साताभित्र नेपाल आइपुग्ने बताउनुभएको छ । उहाँले लक्षित गरिएका सबै समूहलाई खोप लगाइने र लगाउन नसकेमा सबै जिम्मेवारी आफूले लिने बताउनुभयो ।
उहाँले दोस्रो चरणमा आउने खोप पनि अक्सफोर्ड एस्ट्राजेनिका र भारतको सिरम इन्स्टिच्युट कम्पनीले निर्माण गरेको खोप कोभिसिल्ड नै आउने संकेत दिएका छन्। खरिद प्रक्रिया सुरु भइसकेको र करिब २० लाख डोजभन्दा बढी खोप खरिद गर्ने जानकारी दिनुभयो ।