Logo
|
Monday 13th January 2025
Logo

epaper

१ लाख ३७ हजार बालबालिका अझै पूर्ण खोपबाट वञ्चित



जनस्वास्थ्य सरोकार,काठमाडौं । देशभर १ लाख ३७ हजार बालबालिका अझैं पूर्ण खोपबाट वञ्चित भएका छन् । खोपबाट वञ्चित भएका बालबालिकामा रोगको जोखिम उच्च देखिने चिकित्सक बताउँछन् । पूर्ण खोप भन्नाले सरकारले अनिवार्य गरेका खोपमध्ये कुनै न कुनै प्रकारको खोपबाट वञ्चित हुनु हो ।
स्वास्थ्य सेवा विभागका अनुसार खोप लिन योग्य बालबालिकामध्ये १ प्रतिशतले खोप नै पाएका छैनन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार २२ प्रतिशत बालबालिकाले अझै पूर्ण खोप पाउन सकेका छैनन् । नेपालमा खोप लिन योग्य बालबालिकाको संख्या करिब ६ लाख २० हजार रहेको छ । यस हिसाबले अझै पनि झन्डै १ लाख ३६ हजार ४ सय बालबालिका पूर्ण खोपबाट वञ्चित भएका छन् ।


यस्तै, झन्डै ६ हजार २ सय बालबालिकाले कुनै प्रकारका खोप पाएका छैनन् । परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार १ प्रतिशत बालबालिकाले कुनै प्रकार खोप पाउन सकेका छैनन् ।

सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएन्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप तथा गर्भवतीका लागि टीडी खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । सरकारले नियमित खोप अभियानका लागि वार्षिक रूपमा १ अर्ब ६५ करोड रुपैयाँको खोप खरिद गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्