Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यका संरचना परिमार्जन गर्ने तयारी फितलो, अन्योल कायमै !



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य क्षेत्रका महत्वपूर्ण संरचनाहरु परीमार्जन गर्ने सरकारको तयारी रहेपनि कार्यान्वयनमा फितलो देखिएको छ । सरकारको निति तथा कार्यक्रम अनुरुप स्वास्थ्य सम्वद्ध महत्वपूर्ण निकायहरु परीमार्जन गर्ने योजना अघि सारिएको थियो ।


सरकारको नीति तथा कार्यक्रम २०७७/७८ मा राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, सेन्टर फर डिजिज कन्ट्रोल र खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने भनिए पनि हालसम्म अपेक्षित उपलब्धि हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एफडीए गठनका विषयमा सरकार सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमार्फत सहमति लिने प्रक्रियामा छ । यस्तै रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्याययन बोर्र्ड गठनसम्बन्धी कानुन प्रादेशिक रूपमा छलफल गरेर अन्तिम अवस्थामा पुगेको छ । तर ती संरचना परिमार्जन सन्दर्भमा नीतिगत तयारी, निर्देशिका, नियमावली, पूर्वाधारलगायतका काम प्रभावकारी तरिकाले अघि बढ्न सकेका छैनन् ।


सरकारको नीति तथा कार्यक्रम २०७७/७८ को ५७ नम्बर बुँदामा स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने भनिएको छ । यस्तै रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ । औषधि, औजार तथा उपकरणसमेतको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना गरिनेछ ।


स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्यायन बोर्ड गठनसम्बन्धी कानुन प्रादेशिक रूपमा छलफल लगभग सकिएकोबताउनुभयो ।
संघअन्तर्गतको स्वास्थ्य सेवा विभागलाई खारेज गरी सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्न लागेको हो । यस्तै औषधि, औजार तथा उपकरणको गुणस्तर मापन तथा नियमन गर्न खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना गर्ने सरकारको योजना अलपत्र परेको छ । सरकारले औषधि व्यवस्था विभागको संरचना खारेज गरी एफडीए स्थापना गर्ने लक्ष्य राखे पनि कार्यान्वयन हुन सकेको छैन ।


सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको सात महिना बितिसक्दा पनि सोसम्बन्धी प्रावधान कानुन मन्त्रालयबाट सहमति लिने कार्यमै रोकिएको छ । विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । औषधि, औजार, उपकरणलगायत चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रिक डिभाइस, सौन्दर्य संशाधन, खाद्यान्नको गुणस्तर, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल्ससमेतको गुणस्तर जाँच तथा नियम गर्न एफडीए स्थापना गर्ने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्