मुलुकमा प्रति डोज ४ डलरका दरले २० लाख डोज खोप खरीद गर्ने बाटो खुल्यो
मन्त्रीपरिषद्को बाधा अड्काउ फुकाउ निर्णय
जनस्वास्य सरोकार, काठमाडौं । मुलुकमा प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप खरीद गर्ने बाटो खुलेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रतिडोज ४ डलरका दरले कोभिसिल्ड खोप खरीद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै खोप खरीदको बाटो खुलेको हो ।
भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भएको थियो । तर भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । मन्त्रिपरिषद्को यो निर्णयले खोप खरिद गर्ने बाटो खुलेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी गराउनुभयो ।
खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सक्ने कानूनी प्रावधान छ । तर सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको हो ।
सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको थियो ।