फ्यानक्यानका मोरङ अध्यक्ष विपिन झा म्याद सकिएका खाद्यपुरकमा नयाँ स्टिकर टाँसेर १० गुणा बढी चर्को मूल्यमा बजारीकरण गर्दै
चिकित्सकलाई धेरै प्रकारको मल्टिभिटामिन लेख्न लगाउने र एउटा पुर्जीमा पाँच हजारसम्मको न्युट्रास्युटिकल लेख्ने गरेको
नेपाल हेल्थ न्युज, विराटनगर । फूड, आयुर्वेदिक, न्युट्रास्युटिकल कस्मास्युटिकल एसोसिएसन अफ नेपाल (फ्यानक्यान) का मोरङ अध्यक्ष न्युट्रास्युटिकल व्यवसायी विपिन झा कमाउने प्रलोभनमा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् । म्याद नाघेका खाद्यपुरकमा नयाँ उत्पादन मिति राखेर खरीद मूल्यभन्दा १० गुणा बढी मूल्य निर्धारण गरेर बजारीकरण गरेको सरकारी अनुगमनबाट खुलेको छ ।
उहाँको विराटनगर–६ मा तीन तलाको आफ्नै घरमा गोदाम छ । सो गोदाममा म्याद सकिएको न्युट्रास्युटिकलको लेभल मेटाउनुहुन्छ र पुनः नयाँ उत्पादन मिति राखेर बिक्री वितरणका लागि बजार पठाउनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आइतबार दिउँसो झाको घरमा छापा मारेर ठूलो परिमाणमा न्युट्रास्युटिकल बरामद गरेपछि तथ्य बाहिर आएको हो ।
झाले आफ्नो तीन तलाको घरको भूइँ र दोस्रो तलाको तीन वटा कोठालाई गोदाम बनाएर राखेका छन् ।
मोरङ प्रहरीका इन्स्पेक्टर सरोज खनाल र राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुइँटेल नेतृत्वको टोलीले झाको घरमा छापा मारेर म्याद सकिएको खाद्यपूरक सामग्री बजारमा पठाउने तयारी गरेको अवस्थामा बरामद गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, छापा मार्दा गोदाममा १४ भन्दा बढी प्रकारका न्युट्रास्युटिकल र अन्य विभिन्न कम्पनीको मल्टिभिटामिनहरू फेला परेको छ ।

प्रहरीले खाद्यपूरक सामग्रीमा छाप लगाउने ४० वटा स्ट्याम्प पनि बरामद गरेको छ । बरामद गरेको खाद्यपूरक सामग्रीहरूको अहिलेसम्म बिलविजक पनि देखिएको छैन । यो भन्सार छली गरी ल्याएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।
इटहरीका अनुसन्धान अधिकृत लुइटेलले भनेका छन्—‘हामीले प्रज्ञापन–पत्र र बिलविजक माग गरेका छौं । तर सञ्चालकले अहिलेसम्म ल्याएका छैनन । सोमबार कार्यालयमा हाजिर हुन हामीले पत्राचार गरेका छौं । प्रारम्भिक चरणमा नक्कली कागजपत्रहरू पनि फेला परेका छन् । हामीले प्रज्ञापन–पत्रअनुसार सामग्री भएनभएको विषयमा पनि अनुसन्धान सुरु गरेका छौँ ।’ सम्पूर्ण कागजपत्र हेरेपछि कति भन्सार छली गरे त्यसपछि पत्ता लाग्ने राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।
भरिया पक्राउः खुल्यो अवैध धन्दा
झाले एक दशकअगाडिदेखि साक्षी मेडलिङ्कमार्फत् भारतबाट सस्तोमा न्युट्रास्युटिकल ल्याउने र खरीद मूल्यमा दशगुणा बढी मूल्य राखेर बजार पठाउने गरेको पाइएको पूर्वबाट प्रकाशित हुने ब्लास्ड खबरले उल्लेख गरेको छ ।
कतिपय न्युट्रास्युटिकल क्यारिङ गरेर पनि ल्याउने गरेको जानकारहरू बताउँछन् । ‘कतिपय न्युट्रास्युटिकल भन्सारबाट राजस्व तिरेर ल्याउने गरेका छन् । त्योभन्दा धेरै भरिया प्रयोग गरेर तस्करी गरी ल्याउने गरेको पाइएको छ । यस घटनाको अनुसन्धान गर्दै आएका एक जना अनुसन्धान अधिकृतले भने, ‘आइतबार झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएका न्युट्रास्युटिकल बरामद गर्न एक जना भरिया पक्राउ पछि मदत पुगेको हो । तस्करी गरेर न्युट्रास्युटिकल ल्याउने भरियालाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा झाको सप्लायर्समा ल्याउने गरेको बताएपछि राजस्व र प्रहरीको टोली पुग्दा ठूलो परिमाणमा गोदाममा राखिएको अवस्थामा म्याद सकिएका न्युट्रास्युटिकलमा पुनः नयाँ स्टिकर, उत्पादन मिति र मूल्य तोकिएको स्टिकर आफै लगाउने गरेको पाइएको छ ।’
झाले म्याद सकिएको न्युट्रास्युटिकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन प्रयोग गर्ने केमिकल र सामान प्रहरीले बरामद गरेको छ । ‘म्याद सकिएको मिति केमिकल प्रयोग गरेर मेटाएपछि नयाँ उत्पादन मिति र मूल्य तोक्ने गरेको पाइएको छ । झाको गोदामबाट मूल्य तोक्ने स्टिकर पनि बरामद भएको छ’–एक अनुसन्धान अधिकृतले भने ।
फ्यानक्यानका अध्यक्ष झाले विराटनगरसहित पूर्वका विभिन्न सहरहरूमा न्युट्रास्युटिकल सप्लाई गर्दै आएका छन् । उनले सबैभन्दा बढी विराटनगरको ठूलो फार्मेसीभित्रको हस्पिटल र विराटनगरको ठूलो मेडिसिन पसलमा जाने गरेको छ । सबैभन्दा बढी विराटनगरको जलजला मोडमा रहेको अलट फार्मेसीले झाको सप्लायर्सबाट न्युट्रास्युटिकल आयात गर्ने गरेको छ । स्वास्थ्य क्षेत्रका जानकारले दिएको जानकारीअनुसार झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटिकल यहाँ ल्याएर आफै मूल्य तोकेर पाँच सयसम्ममा बिक्री गर्दछन् ।
‘एक पत्ता न्युट्रास्युटिकलमा दश गुणासम्म मुनाफा राखेर न्युट्रास्युटिकल बिक्री गर्ने गरेको पाइएको छ । यसमा केही चिकित्सकहरूको पनि मिलेमतो रहेको छ । चिकित्सकलाई धेरै प्रकारको मल्टिभिटामिन लेख्न लगाउने र एउटा पुर्जीमा पाँच हजारसम्मको न्युट्रास्युटिकल लेख्ने गरेको पाइएको छ’ एक जना फार्मेसी सञ्चालकले भने, ‘चिकित्सकले लेखिदिएपछि बिरामीले खरिद गर्दछन् । सस्तोमा खरिद गरेको न्युट्रास्युटिकल यहाँ ल्याएपछि महँगोमा बिक्री गर्दछन् । यसरी बिरामीलाई चर्को मूल्यमा बिक्री गरेको पैसा न्युट्रास्युटिकल सप्लायर्सले चिकित्सकलाई पनि दिने गरेका छन् ।’ यसरी चाँडै पैसा कमाउने धन्दामा लागेका झाले भने नष्ट गर्ने तयारी गरिएको न्युट्रास्युटिकल बरामद भएको दाबी गरेका छन् । ‘नष्ट गर्न हामी आफैले गरेर हुँदैन । महानगरपालिकाबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसरी नष्ट गर्ने क्रममा बरामद गरेको हो’ उनले भने, ‘राजस्व तिरेर हामीले न्युट्रास्युटिकल ल्याउने गरेका छौँ ।’