स्वर्गीय डा. महेश कुमार गौतमको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक समाग्री र छात्रवृति प्रदान
नेपाल हेल्थ न्युज, नुवाकोट । बाल तथा एलर्जी रोग विशेषज्ञ स्वर्गीय डा. महेश कुमार गौतमको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक समाग्री र छात्रवृति प्रदान गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टर्सले क्लबका पुर्व अध्यक्ष, स्वर्गीय डा. गौतमको सम्झनामा नुवाकोटको शान्तिदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी आइटम र स्कुल ब्याग वितरण गरेको हो ।
‘ज्ञानको उपहार’ नारा सहित विद्यार्थीलाई नियमित विद्यालय जान प्रोत्साहन गर्नका लागि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष डा. एलिना कार्कीले जानकारी दिनुभयो । सोही अवसरमा विद्यालयका भित्तामा प्रेरणादायी पेन्टिङ समेत गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुको आँखा जाँच समेत गरिएको क्लबका चार्टर अध्यक्ष तथा ‘डिस्ट्रिक ३२५ जी’का क्लस्टर ३ अध्यक्ष डा. तेजसु सिंह मल्लले जानकारी दिनुभयो ।
त्यस्तै, एकजना जेहेन्दार विद्यार्थीलाई ‘लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टर्स, डा. महेश गौतम मेमोरियल स्कोलसिप’ प्रदान गरिएको थियो । कक्षा ३ मा अध्ययनरत मञ्जु परियारलाई उक्त छात्रवृति प्रदान गरिएको हो । उक्त छात्रवृति क्लबकी कोषाध्यक्ष अस्बीना केसीले स्पोन्सर गर्नुभएको थियो ।
लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरमा हाल एक सय जनाभन्दा बढी सदस्य आवद्ध रहेका छन् । क्लबको स्थापना लायन्स वर्ष २०२०–२०२१ मा भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय लायन्सबाट अवार्ड पाइसकेको यो क्लब शतप्रतिशत डाक्टर मात्रै आवद्ध भएको विश्वकै पहिलो क्लब हो ।