Logo
|
Monday 20th May 2024
Logo

epaper

पश्चिम अफ्रिकी राष्ट्र गीनीमा इबोलाको नयाँ महामारी



जनस्वास्थ्य सरोकार । पश्चिम अफ्रिकी राष्ट्र गीनीमा इबोला भाइरस संक्रमण देखापरेको छ । बीबीसीका अनुसार इबोला संक्रमणका कारण तीन जनाको मृत्यु छ भने आठ जना बिरामी परेका छन् । संक्रमणदर बढ्न थालेपछि गीनीले नयाँ महामारी घोषणा गरेको छ। पछिल्लो महामारी दक्षिण पूर्वी गीनीको एउटा अन्त्येष्टि समारोहबाट फैलिएको बताइएको छ। पश्चिम अफ्रिकामा यसअघि इबोला महामारी अन्त्य भएको चार वर्षभन्दा बढी भइसकेको छ। अहिलेसम्मकै सबैभन्दा घातक भनिएको इबोला महामारीले ११,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो। सन् २०१३ देखि २०१६ सम्म पनि त्यही क्षेत्रमा इबोला महामारी देखा परेको थियो।

इबोला के हो ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोला जङ्गली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने गर्दछ । त्यसपछि एक व्यक्तिबाट अर्को सर्ने गर्छ। इबेला भाइरस संक्रमणपछि सुरुमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुने जस्ता लक्षणहरु देखिन्छन् । त्यसपछि बान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रक्तश्राव हुने जस्ता जटिल लक्षणहरु देखिन्छन् । यो भाइरस सङ्क्रमण भएपछि दुईदेखि २१ दिन भित्रमा लक्षण देखिन सक्छ ।

कसरी सर्छ इबोला ?
इबोला सङ्क्रमण भएका वा इबोलाका कारण ज्यान गुमाएका व्यक्तिका रगत वा जीउबाट निस्कने तरल पदार्थ (रगत, दिसा वा बान्ता) सँग प्रत्यक्ष सम्पर्क हुँदा यो रोग सर्ने गर्छ। इबोलाका बिरामीहरूको जीउबाट निस्कने तरल पदार्थले सङ्क्रमित भएका वस्तुहरूबाट पनि यो सर्छ। इबोलाको सङ्क्रमण पुष्टि भएका वा आशङ्का गरिएका व्यक्तिको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीमा बारम्बार यो समस्या देखा पर्दै आएको छ। प्रारम्भिक चरणको सङ्क्रमणका क्रममा परम्परागत सामुदायिक अन्तिम संस्कार महामारी फैलने अर्को माध्यम हो। किनभने समुदायका अधिकांश व्यक्तिले मृतकका शरीरलाई छुने, पखाल्ने र चुम्बन गर्ने गर्छन्। इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै सङ्क्रामक हुन्छ।

कसरी सङ्क्रमण देखा पर्‍यो ?
अहिलेको सङ्क्रमण दक्षिण पूर्व गीनीको एउटा नगर जिहोकामा भएको अन्तिम संस्कारसँग जोडिएको छ। त्यहाँ एउटा स्थानीय केन्द्रमा जनवरीको अन्त्यमा एक जना नर्सको ज्यान गएको थियो र उनको शव फेब्रुअरी १ मा गाडिएको थियो। त्यसको केही दिनपछि अन्तिम संस्कारमा सहभागी भएका आठ जना व्यक्तिमा झाडापखाला, बान्ता आउने र ज्वरो देखा पर्‍यो। तीन जनाले बिरामीले लगत्तै ज्यान गुमाए। अरूको उपचार हुँदैछ। बीबीसी

प्रतिक्रिया दिनुहोस्