कोभिसिल्ड खरीदका लागि ९३ करोड रुपियाँ भुक्तानी
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य सेवा विभागले फागुन ६ गते बिहीबार कोभिड–१९ विरुद्धको २० लाख खोप खरिद गर्न सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपियाँ भुक्तानी दिएको छ ।
सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी दिइएको हो । सेरमले दुई हप्ताभित्र खोप पठाउने बताएको छ । खोप फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई लगाउन सुरु गरिनेछ । यस अघि नै प्रतिखोप ४ डलरका दरले सहुलियत दरमा खोप उपलब्ध गराउने सहमति भइसकेको थियो । १०—१० लाख गरी दुई चरणमा सेरम इन्ष्टिच्युटले खोप पठाउने छ ।
फागुन ४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रतिडोज ४ डलरका दरले कोभिसिल्ड खोप खरीद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै खोप खरीदको बाटो खुलेको थियो ।
भारतको सिरम इन्स्टिच्यूटसँग प्रति डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भएको थियो । तर भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।
खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सक्ने कानूनी प्रावधान छ । तर सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको थियो ।