Logo
|
Monday 13th January 2025
Logo

epaper

स्वास्थ्य मन्त्रीद्धारा स्टार हस्पिटलमा एनआईसियूको समुद्घाटन



जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुरको सानेपास्थित स्टार हस्पिटलले ‘शिशु सघन उपचार कक्ष (एनआईसियू) शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज सो उपचार कक्षको उद्घाटन गर्नुभयो । मन्त्री त्रिपाठीले सम्पूर्ण स्टार हस्पिटल परिवारलाई शुभकामना दिँदै कोभिड—१९ उपचारमा हस्पिटलले गरेको योगदानको खुलेर प्रशंसा गर्नुभयो । उहाँले कोभिड—१९ खोप अभावमा खोप अभियान नरोकिने आश्वासन दिनुभयो । मुलुकमा कोभिड संक्रमण र मृत्यु दर घटेको तर जोखिम नघटेको चर्चा गर्दै मन्त्री त्रिपाठीले आफ्नो स्वास्थ्यको ख्याल राख्न सबैलाई आग्रह गर्नुभयो । मुलुकमा सरल र सहज तवरले खोप ल्याउने क्रम जारी रहेको जानकारी गराउँदै मन्त्री त्रिपाठीले अस्पतालमा कार्यरत नर्स र अन्य कर्मचारीहरुको तलब सरकारले तोकेको न्युनतम मापदण्ड पालना गरेर उपलब्ध गराउन आग्रह गर्नुभयो ।

स्टार हस्पिटलको क्लिनिकल प्रयोगशाला ‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति हुन सफल भएकोमा मन्त्री त्रिपाठीले खुशी व्यक्त गर्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइन सर्जन डा. शैल रुपाखेतीले हस्पिटल एनआईएसओ ९००१ः२०१५ सर्टिफाइड मल्टीस्पेशियालिटी हस्पिटलमा परिणत भएको जानकारी गराउँदै आगामी दिनमा हरेक विभागको स्तरोन्नति गर्दै आम सर्वसाधारणलाई अत्याधुनिक सुविधा उपलब्ध गराउँदै जाने उल्लेख गर्नुभयो ।
ज्यापु समाज यालःका अध्यक्ष चन्द्र महर्जनले ज्यापु समाजमा भएका ४० हजारभन्दा सदस्यहरुको शेयर हस्पिटलमा भएको उल्लेख गर्दै हस्पिटलको स्तरोन्नतिको शुभकामना दिनुभयो ।

हस्पिटलका अध्यक्ष किशोरकुमार महर्जनले हस्पिटलले आफ्नो सेटलाइट अस्पतालका रुपमा प्रदेश ३ को नुवाकोटमा स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै शिघ्र अन्य प्रदेशमा पनि विस्तार गर्दै जाने बताउनुभयो । हस्पिटलमा देशकै नमुना जिआई सेन्टर (पाचन प्रणाली, पेट, आन्द्रा रोग उपचार केन्द्र) का आवश्यक अत्याधुनिक उपकरण खरीदका लागि प्रक्रिया अघि बढाइसकेको र वरिष्ठ ग्याँष्ट्रोइन्टेष्टाइनल सर्जन प्रा.डा. सुनिलकुमार शर्मा ढकाल र वरिष्ठ पेट रोग विशेषज्ञ प्रा.डा. इश्वर लाल (आईएल) आचार्यको नेतृत्वमा अत्याधुनिक ‘स्टार जिआई सेन्टर’ सञ्चालन हुन लागेको जानकारी गराउनुभयो ।

विगत १४ वर्षदेखि सञ्चालनमा आएको स्टारले शसक्त हाडजोर्नी, नशा, छाला तथा सौन्दर्य, मुत्ररोग उपचारलाई विशेष प्राथमिकतामा राखेर अत्याधुनिक सेवा उपलब्ध गराउन सपल भएको छ ।

प्रतिक्रिया दिनुहोस्