नर्भिक अस्पतालमा नयाँ ओपिडी सेवा शुरु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ । अस्पतालले आफ्नो पुरानो ओपिडी भवनलाई पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको हो ।
आइतबार पत्रकार सम्मेलन आयोजना गरी अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताउनुभयो । अस्पतालले आफ्नो सेवालाई पूर्णरुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी दिनुभयो । उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको समेत बताउनुभयो ।
यस्तै विरामीहरुले स्पष्टसँग देख्नेगरी डाक्टरको कक्ष अगाडि सम्बन्धित डाक्टरको फोटो सहितको डिजिटल बोर्ड राख्ने व्यवस्था मिलाइएको पनि बताउनुभयो । नर्भिकले प्रत्येक कन्सलट्यान्टहरु सम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत तयार गरेको छ ।
ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको कक्ष समेत सँगै राखेको छ । नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको समेत सञ्चालन प्रमुख गौतमले बताउनुभयो ।