स्वदेशी मोहले तान्यो
विदेशबाट कस्तो सोच बोकेर नेपाल फर्किनुभयो ?
अस्ट्रेलियाबाट बिजनेश एडमिनिस्ट्रेसनमा आध्ययन सकेर दश वर्ष युएई दुवई शहरमा व्यवसाय गरेर बसेको थिएँ । मेरो स—परिवार नेपालमै भएको र नेपालमा हाम्रो व्यापार व्यवसाय भएकाले ‘परिवार सँगै बसौँ’ र आफ्नै देशमा ‘केहि गरौँ’ भनेर सन् २०१५ मा नेपाल फर्किएको हुँ ।
नेपाल फर्किएको लगभग पाँच बर्ष बितिसकेको छ । यहाँ आएपछि एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि. नामको औषधि कम्पनि शुरु गर्यौं । यो कम्पनि नयाँ किसिमबाट शुरु गरिएकाले यसैमा केन्द्रित भएर काम अघि बढाइरहेका छौं । बाराको छत्रपिपरामा रहेको यो कम्पनि ८० हजार स्क्वायरफिट क्षेत्रफलमा फैलिएको छ ।
भिटिएम उत्पादन गर्न कसरी सफल हुनुभयो ?
कोभिड— १९ का कारण ११ चैत २०७६ मा मुलुकमा लकडाउन शुरु भयो । कोभिड—१९ का बिरामीहरुको वृद्धि भइरहेको थियो । सरकारले परीक्षण दायरा बढाउँदै गएको थियो । तर कोभिड—१९ परीक्षणका लागि नमुना संकलन गर्ने भाँडो भि.टि.एम. अभाव भएका समाचारहरु आउन थाले । त्यसपछि कोभिड—१९ को महामारी भएपनि हामी चुप लागेर बस्न सकेनौं । नेपालमा भि.टि.एम. उत्पादनका लागि सम्भावित अध्ययन सुरु गर्न थाल्यौं । त्यसपछि स्वदेशमा उत्पादन गर्ने सोच अघि बढायौं ।
भि.टि.एम. उत्पादनका लागि सेन्ट्रल फर डिजिज कन्ट्रोल (सिडिसी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको गाइडलाइन मुल्याङ्कन गर्दा सिडिसिको फर्मुलेसन अवलम्वन गर्यौं ।
त्यो बेला आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध नभएको र ढुवानी गर्ने सवारी साधन राम्रोसँग चलाउन सक्ने वातावरण थिएन । तैपनि कच्चापदार्थ जुटाउँदै गयौँ । यसमा लगभग ३० दिन जति लाग्यो ।
पहिलो ट्रायल उत्पादनलाई थर्ड पार्टी ल्याव टेस्ट गर्दा परिणाम सकारात्मक आयो । दोस्रोमा पनि प्रोसेस गरेर इन हाउन टेस्टिङ र थर्ड पार्टी ल्याव टेस्ट गरी स्वीकृत भएपछि व्यवसायिक रुपमा उत्पादन सुरु गर्न थालेका छौं ।
अहिले प्रत्येक ब्याचको भि.टि.एम.को स्टेरेलिटी र स्ट्याबिलिटी परीक्षण गराइरहेका छौँ । सिडिसि गाइडलाइनले पनि अमेरिकाको सेन्ट्रल ल्याबोरेटोरी स्ट्यान्डर्ड इन्स्टिच्युटको गाइडलाइनलाई नै फलो गर्न सुझाएको छ । यद्यपी थर्ड पार्टी ल्याव टेस्ट कम्प्यारिजन अध्ययन गर्दा एभरेष्ट प्यारेन्टेरेल्सको उत्पादन राम्रो गुणस्तरको जानकारी आएको छ ।
उत्पादित भि.टि.एम.को बजारीकरण कसरी गरिरहनुभएको छ ?
निजी अस्पताल र सरकारी तहमा भि.टि.एम. उपलब्ध गराउँदैछौं । मुलुकमा बाहिरबाट नल्याएपनि मुलुकमा उत्पादन भएको गुणस्तरीय भि.टि.एम.पर्याप्त छ । भि.टि.एम.लगायतका अन्य धेरै औषधिमा नेपाल आत्मनिर्भर भइसकेको छ । हामीले बजारमा फरक प्रकारका उत्पादन ल्याउन सफल भएका छौं ।
भिटिएम के हो ?
भि.टि.एम. (भाइरल ट्रान्सपोर्ट मिडियम) भनेको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान हो । यसलाई एक प्रकारको किट भनेर बुझ्दा पनि सकिन्छ । यसको काम प्रयोगशालासम्म नमुना पुर्याउँदा भाइरस नमरोस् र संक्रमण नफैलियोस् भन्ने नै हो । पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेपछि त्यसलाई सुरक्षित रुपमा प्रयोगशालासम्म पुर्याउन भिटिएम किट प्रयोग गरिन्छ । स्वाबमा भएको भाइरसलाई बिग्रन नदिन ह्याक्स ब्यालेन्स सोलुसन, फेटल बोभिन सेरम तथा एन्टिबायोटिक र एन्टिफंङ्गलको समिश्रणबाट भिटिएम तयार गरिन्छ ।
तापक्रम मेन्टेन नभएमा भाइरस डिनेचर हुनसक्ने सम्भावना बढेर जान्छ । जसले गर्दा पिसिआर रिजल्ट फल्स नेगेटिभ आउँछ । आरएनए भाइसरका लागि तापक्रम सात दिनसम्मका लागि माइनस २० डिग्री सेल्सियसमा राख्नुपर्ने तथा त्यो भन्दा बढी भएमा माइनस ८० डिग्री सेल्सियस राख्नुपर्ने विश्वव्यापी मान्यता छ ।
पिसिआर मेसिनले कोभिड—१९ को परीक्षण गर्दा जटिल फ्लोरोसेंस ग्राफ आउने गर्छ । जसमा थ्रेसहोल्ड भ्याल्यु (सिटी भ्याल्यु) अनुसार नमुना पोजिटिभ वा नेगेटिभ भएको निष्कर्ष वैज्ञानिकले गर्ने गरेका छन् । एनएस, लाइसिस वफर, भाइरस इनएक्टिभेटर भएमा कलेक्सन सोलुसनमा राखिएको नमुनामा लामो समयसम्म जाँच नगरी (२४ घण्टापछि) जाँच गरेमा आउने जटिल फ्लोरोसेन्स ग्राफको सिटी भ्याल्युमा नै परिवर्तन हुन सक्ने सम्भावना अत्यधिक हुन्छ । जसले गर्दा परिणामा फल्स नेगेटिभ आउन सक्छ ।
संसार नै कोभिड-१९ का कारण आक्रान्त बनेको समयमा नेपालमा काम नै नलाग्ने र बेग्लै प्रयोजनमा प्रयोग हुने विभिन्न रसायनहरुलाई भि.टि.एम.को रुपमा प्रयोग गरिँदा रोगको जोखिम झनै बढ्ने कुरालाई नकार्न सकिन्न ।
भारतमा कोरोनाको जाँचमा प्रयोग हुने सम्पूर्ण रसायनहरुको परीक्षण तथा सर्टिफिकेसन आईएमसिआर,भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदले गर्ने गरेको छ । सो को आधारमा भि.टि.एम. समेत गुणस्तरीयमात्र प्रयोग भएका छन् ।
जुनसुकै वस्तुलाई अत्यन्त न्युन मूल्यमा भि.टि.एम. बनाएर पठाउने चाइनाको काइदा भारतमा चलेको छैन । साथै सिई सर्टिफिकेट समेत भि.टि.एम. को सट्टामा प्रिजरभेसन ट्युव, आरएनए प्रिजरभेसन किट भनेर लेखिएका र भि.टि.एम.मा हुनुपर्ने आधारभूत गुण समेत नभएका विभिन्न रसायनको प्रयोगले नेपालमा पि.सि.आर. परीक्षणमा समेत विश्वसनियता गुमाउने कुरा निश्चित छ । नेपाली जनता कहिलेसम्म ठगिने र गलत पिसिआर नतिजाले मर्ने हुन ? प्रश्न गम्भिर छ । यसतर्फ सरकार र जनता स्वयं सचेत एवं सतर्क हुनु पर्ने आवश्यकता छ ।